नाम्ची: नाम्ची जिल्लामा प्रधानमन्त्री विश्वकर्मा योजनाअन्तर्गत आज बजार व्यवस्थापनमाथि एक दिवसीय सचेतना कार्यक्रम नाम्ची जिल्लाको अफिसर्स क्लवमा सम्पन्न भयो। भारत सरकारको एमएसएमई कार्यालय, जिल्ला उद्योग केन्द्र, नेश्लन स्मल इन्डस्ट्रिज कर्पोरेशन र सिक्किम विश्वविद्यालयको संयुक्त पहलमा भएको कार्यक्रममा नाम्ची जिल्लाकी अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङ मुख्य अतिथि थिइन्। उक्त कार्यक्रमको मुख्य उद्देश्य स्थानीय कारीगरहरूलाई डिजिटल बजारबारे जागरुकता गराउनु थियो. साथै ई-कमर्सअन्तर्गत व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। स्थानीय कारीगरहरूको व्यवसायलाई राष्ट्रीय साथै अन्तर्राष्ट्रीयस्तरमा पुऱ्याउन केन्द्र सरकारले यस प्रकारको कार्यक्रम शुरू गरेको हो। मुख्य अतिथि तामाङले पीएम विश्वकर्मा योजना वर्ष १७ सेप्टेम्बर २०२३ मा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शुरू गरेको बताइन्। यस योजनाको मुख्य उद्देश्य परम्परागत कारीगर र शिल्पकारहरूलाई पहिचान गरेर सहयोग र सशक्तिकरण गर्नु हो। उनले योजना आधुनिक उपकरण र प्रविधिहरूमार्फत उत्पादन र सेवाहरूको गुणस्तर सुधार गर्ने कुरामा पनि जोड़ दिइन्।