कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा ब्रदरहूड एफसी (गान्तोक, सिक्किम)-ले सेमिफाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा सोमवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा ब्रदरहूड एफसी-ले सेनापती एफसी (मणिपुर)-विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट साहिलले २७औं र कुहुले ३८औं मिनटमा गोल गरे। म्याचको ४०औं मिनटमा ब्रदरहूड एफसी-का गोलदाता साहिलले रेड कार्ड देखेर मैदान छोड़नु पऱ्यो। त्यसपछि विपक्षी टीम १० जना खेलाड़ीमा सीमित भए पनि मणिपुरको टीमले मौकाको फाइदा उठाउन सकेन। दोस्रो हाफको खेलमा लगातार आक्रमण गरे पनि सेनापति एफसी-ले गोल गर्न सकेन। ब्रदरहूड एफसी-का गोलकीपर प्रनुप सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा स्थानीय टीमहरूको साथमा सिक्किम, मणिपुर, भूटान, बोडोल्याण्ड (असम), झारखण्ड, कलकत्ता र नर्थ-ईष्टर्न रेलवे को टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्। अब मंगलवार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा यूकेएफसी, खरसाङ र खिदिरपुर उत्सव, कलकत्ताबीच भिड़न्त हुनेछ।