बिहार चुनावअघि प्रधानमन्त्री मोदीको पूर्णिया भ्रमण, ३६ हजार करोड बराबरका परियोजना घोषणा

bihar-news_ea120e7751dee41840144b28a8496f1b

पटना: बिहार विधानसभाको चुनाव नजिकिँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पूर्णिया जिल्लाको दौरा गर्ने भएका छन्। उनले करिब ३६ हजार करोड भारतीय रुपैयाँ बराबरका विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ। मोदीले एक विशाल आमसभालाई पनि सम्बोधन गर्नेछन्।
पूर्णियामा निर्माण सम्पन्न नयाँ विमानस्थल टर्मिनलको उद्घाटनसमेत प्रधानमन्त्रीले गर्नेछन्। यसले उत्तर बिहारको दीर्घकालीन हवाई सम्पर्कको माग पूरा गर्नेछ। साथै उनले राष्ट्रिय मखाना बोर्डको शुभारम्भ पनि गर्नेछन्। भारतको कुल मखाना उत्पादनमध्ये करिब ९० प्रतिशत बिहारबाट हुने गरेको छ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “मखाना र बिहारको गहिरो सम्बन्ध छ। राष्ट्रिय मखाना बोर्डबाट यहाँका किसान दाजुभाइ दिदीबहिनीहरू लाभान्वित हुनेछन्।”
मोदीले भागलपुरको पीरपैंतीमा २५ हजार करोड लगानीमा बन्ने ८०० मेगावाट क्षमताका तीन ताप विद्युत परियोजनाको शिलान्यास गर्नेछन्। यस्तै, २,६८० करोड लागतको कोसी–मेची अन्तरराज्यीय नदी जोड परियोजनाको पनि आधारशिला राखिनेछ।
उनले रेलसम्बन्धी धेरै परियोजनाको उद्घाटन र शिलान्यास गर्नेछन् भने केही नयाँ रेलगाडीलाई हरियो झण्डा देखाउने कार्यक्रम पनि छ। राष्ट्रिय गोकुल मिसन अन्तर्गत अत्याधुनिक वीर्य केन्द्रको उद्घाटनसमेत गरिनेछ।
प्रधानमन्त्री आवास योजना (ग्रामीण र शहरी) अन्तर्गत हजारौँ लाभार्थीलाई आवासको चाबी हस्तान्तरण गरिनेछ। त्यस्तै, दीनदयाल अन्त्योदय योजना–ग्रामीण आजीविका मिशन अन्तर्गत ५०० करोड बराबरको सामुदायिक लगानी कोष वितरण गरिनेछ।
प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै पूर्णियामा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement