दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज राज्यको शहरी विकास तथा नगर प्रशासन विभागका मन्त्री फिराद हाकिमलाई भेट गरी खरसाङ, दार्जीलिङ, कालेबुङ र मिरिक नगरपालिकाहरूमा अत्यावश्यक ढल निकास प्रणाली निर्माण तथा पानी आपूर्ति सुदृढिकरणका लागि विभागलाई तत्काल कारवाहीको माग गर्दै औपचारिक अनुराेध गरेका छन्।
मन्त्रीलाई भेटको साथमा एउटा ज्ञापन पत्र पनि चढाएका छन्। ज्ञापन पत्रमा उनले खरसाङ, दार्जीलिङ, कालेबुङ र मिरिक नगरपालिका क्षेत्रहरूमा आधुनिक ढल (सेवरिज) प्रणाली निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न तथा लगानीको माग गरेका छन्। उनले यी नगरपालिकाहरू प्रशासनिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरूको रूपमा महत्वपूर्ण भए पनि, पुरानो र अपूरो ढल व्यवस्थाका कारण जनस्वास्थ्य र वातावरणीय क्षति भइरहेको जानकारी गराएका छन्।
यस विषयमा उनले भने, अप्रशोधित फोहोरजन्य पदार्थ, पानीजन्य रोगको जोखिम, तथा प्राकृतिक जलस्रोतको प्रदूषणका कारण यी नगरपालिकाहरूमा बसोबास गर्ने निवासी तथा पर्यटकहरू दुवै जोखिममा रहेको सत्यतालाई औंल्याएको छु।उचित ढल व्यवस्था अभावमा यहाँको पर्यटन, विकास, नगरको छवि तथा वातावरणीय संवेदनशीलता थप खतरामा पर्न जान सक्छ।’
उनले अघि भने, ‘पत्रमा मैले दार्जीलिङ नगरपालिकामा अमृत २.० योजनाअन्तर्गत पानी आपूर्ति सुदृढीकरणको माग समेत गरेको छु, जहाँ पर्यटन, जनसंख्या तथा भौतिक पूर्वाधारका कारण पानीको कमी बढ्दो छ। मैले राज्य सरकारलाई सार्वजनिक स्वास्थ्य, दिगो विकास तथा पहाडी क्षेत्रको संवर्धनका लागि उक्त योजना कार्यान्वयनमा प्राथमिकता दिन आग्रह गरेको छु।’
उनले अझ भने, ‘जीटीएको अपेक्षा छ—सहकार्य तथा आवश्यक लगानीबाट आधुनिक पूर्वाधार निर्माण भएर, स्थानीय बासिन्दा एवं पर्यटकको सुरक्षा हुने, र दार्जीलिङको पर्यटकीय चिन्हारी कायम राख्न मद्दत पुग्नेछ। मैले मन्त्रीलाई व्यक्तिगत रूपमा हस्तक्षेप गरिदिने आग्रह गरेकाे छु। उहाँले मेरो मांग लाई जायज अनि आवश्यक मांग ठहराउनु भयो। यसमाथि पहल सुरु गर्ने वचन दिनु भएको छ।’