गान्तोक: इस्टर्न हिमायल ट्राभल, टुर अपरेटर्स एसोसिएशन साथै सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागको संयुक्त पहलमा आयोजित दुई दिवसीय तेस्रो कञ्चनजङ्गा अन्तर्राष्ट्रीय पर्यटन सम्मेलनको समापन भयो। यस दुई दिवसीय कार्यक्रमको पहिलो दिन पर्यटन विभागका मन्त्री टीटी भोटिया मुख्य अतिथिका रुपमा सहभागी भए। साथमा विधायक एवं विभागीय सल्लाहकार सुदेशकुमार सुब्बा लगायत अन्य अधिकारीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रमले पूर्वी हिमालय राज्यहरूलाई एकै ठाउँमा ल्याउन सफल भएको थियो। जसमा पश्चिम बंगालका पर्यटन सरोकारवालाहरू, भोटान पर्यटन बोर्ड र पर्यटन हितधारकहरुको बाक्लो सहभागिता थियो. दुई दिवसीय कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू समावेश थिए। सम्मेलनमा दिगो, समुदायमा आधारित र ग्रामीण पर्यटनमा केन्द्रित सत्रहरू समावेश गरिएको थियो। पूर्वी हिमालयमा दिगो पर्यटन सम्बन्धी एक महत्त्वपूर्ण सत्रमा इस्टर्न हिमायल ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएशनका महासचिव देवाशीष चक्रवर्तीद्वारा वार्ता पेश गरियो। जसमा डा. दावा ग्याल्पो शेर्पा, मानश रञ्जन ब्यानर्जी, अभिजित सिन्हा, अनिल उराँव र रबिन बस्नेतले बहुमूल्य बिचार साझा गरे। आगामी ९-११ जनवरी २०२६ को लागि तय गरिएको बंगाल ट्राभल मार्ट २०२६ को लागि अनलाइन दर्ता पोर्टल मन्त्रीद्वारा आधिकारिक रूपमा शुरू गरियो। जसले प्रारम्भिक संलग्नताको लागि आधार तयार पारेको छ। यसरी नै दोस्रो दिनको कार्यक्रम बी २ बी व्यवसायदेखि व्यवसाय नेटवर्किङमा समर्पित थियो। जसले राज्यको पर्यटन सरोकारवालाहरू, स्थानीय सञ्चालकहरू, होमस्टेहरू, टुर अपरेटरहरू र अन्तर्राष्ट्रीय प्रतिनिधिहरूसँग सम्पर्क गर्न प्रभावकारी मञ्च प्रदान गर्ने निर्णय गरियो। जसले नयाँ व्यवसायी सहकार्य र बजार विस्तारको लागि मार्ग प्रशस्त रहेको सम्भावना दर्शाएको छ।