क्षेत्रीय सभासद र नगरपालिकाद्वारा निरीक्षण भ्रमण
खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ७ को लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा आज बिहान पैह्रोले तीनवटा घरहरुलाई क्षति गरेको छ। वार्ड नम्बर ७ को लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा आज बिहान ९:१५ बजी तिर रबि छेत्रीको घरबाट पैह्रो झरेर तलपट्टि रहेको घरको छतमा रहेको बताइएको छ। पैह्रोले तलपट्टिको घरलाई क्षतिग्रस्त बनाएको छ भने रबि छेत्रीको घर पैह्रोमा झुण्डिएको अवस्थामा रहेको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार यस पैह्रोमा परेर यस वार्डमा तीनवटा घरलाई क्षति पुराएको छ। उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, कार्यकारी अधिकारी कैलाश प्रसाद, एसएओ सत्य थापा, सोनाम लामा आदिले गरेको र पैह्रो क्षेत्रमा ६-७ वटा पोलिथिनहरु बिछ्याउने कार्य गरिएको बताइएको छ। उक्त टोलीले पैह्रो ग्रस्त क्षेत्रको नापजोख गरेर मरमत्तिको तयार पारेको र यस पैह्रो विषयमा जीटीए प्रमुख अनित थापा र खरसाङ महकुमा शासकलाई पनि जानकारी गराइएको बताइएको छ। उक्त पैह्रोमा झुण्डिएको अवस्थामा रहेको रवि छेत्रीको घरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताइएको छ।

उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण भ्रमण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद श्याम शेर्पाले खरसाङ नगरपालिकाको टिमसित मिलेर वार्ड नम्बर ७ को लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा गएको पैह्रो निरीक्षणमा आएको जानकारी गराएका छन्। उनले कुनै ठाउँमा पैह्रो गएपछि सर्वप्रथम सम्बन्धित विभागमा जानकारी गराउने स्थानीयहरु समक्ष अपिल गरेका छन्। उनले पैह्रो गएको भिडियो फेसबुकमा हाल्नु अघि सम्बन्धित विभागमा जानकारी दिए सम्बन्धित विभागका पदाधिकारीहरु तत्कालै आएर काम गर्ने बताएका छन्।