माम्ले जीपीयू टोलीको लुङचोक कमेरे ग्राम प्रशासन केन्द्रको अध्ययन भ्रमण

IMG-20250913-WA0196

नाम्ची: दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत ४१- ग्राम प्रशासन केन्द्र, माम्लेका जम्मा १८ जनाको टोलीले सुम्बुक ब्लकअन्तर्गत लुङचोक कमेरे ग्राम प्रशासन केन्द्रको अध्ययन भ्रमण गरेको छ। लुङचोक कमेरे ग्राम प्रशासन केन्द्र एक नमूना रहेको हुनाले माम्ले जीपीयुका पञ्चायत सभापति कृष्णकुमार मङ्गरको अगुवाईमा गएको टोलीले अध्ययन भ्रमण गरेको हो। यसको मुख्य उदेदश्य ‘आत्मनिर्भर पूर्वाधार’ माथि भ्रमण र अध्ययन गरी आफ्नो जीपीयुलाई पनि विविध क्षेत्रहरूमा सशक्त बनाउने रहेको थियो। लुङचोक कमेरे ग्राम प्रशासन केन्द्रका पञ्चायत सभापनि पिञ्छो लेप्चा, पञ्चायतगण, सह-निर्देशक केवल कोइरालाद्वारा अध्ययन टोलीलाई स्वागत गरियो। टोलीले उद्देश्य र परिचय राखेका थिए। औपचारिक भ्रमणमा ज्येष्ठ नागरिकका लागि मनोरञ्जन केन्द्र, सामुदायिक सेवा केन्द्र, बीज सेल, पुस्तकालय, किचन गार्डन, प्रशासनिक कार्यहरू, बाल सशक्तिकरण केन्द्र, नारी सशक्तिकरण केन्द्र, बाल केन्द्र, बहुउद्धेशीय हल, मोडल आँगनवाडी केन्द्र, जिम हल साथै फिट्नेस सेन्टर आदिको निरीक्षण गराएका थिए। पञ्चायत सभापनि पिञ्चो लेप्चाले पावर प्रेजेन्टेसन मार्फत जीपीयू प्रोफाइलबाट विभिन्न सम्पदा, सम्पति, परियोजना र कार्यक्रमहरूको विस्तृत रूपमा सभागृहमा प्रस्तुति दिएका थिए। प्रस्तुतिकरण पश्चात पीडीए अञ्जना तामाङले ग्राम प्रशासनिक सहायक गङ्गीमाया मङ्गर अनि पञ्चायत सभापति कृष्णकुमार मङ्गरको प्रश्नावलीहरूको प्रतिउत्तर सन्तोषजनक दिएकी थिइन् भने सभापति मङ्गरले यति उत्कृष्ट ढङ्गमा जीपीयुको सुन्दरीकण, प्रशासन र अवार्ड प्राप्तिमा पञ्चायत अनि प्रशासनको एकताको कारण सफल रहेको बताउदै बधाई अनि शुभकामना व्यक्त गरे। लुन्चोक कमेरेका सह-निर्देशक केवल कोइरालाको स्वागत सम्बोधनबाट शुरू गरिएको कार्यक्रमलाई माम्ले जीपीयुका सह-निर्देशक डीबी राईले छोटो अवधिमा भए पनि सम्मानकोसाथ आफ्नो एक्सपोजर टिमलाई सहयोग र साथ दिनुभएकोमा आभार प्रकट गर्दै निकट भविष्यमा एकार्कामा मैत्रीपूर्ण सम्बन्धमा रही कार्य गर्ने अवगत गराए। माम्ले जीपीयुद्वारा स्मृति चिन्ह प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement