गान्तोक: आफू विरुद्ध गान्तोक सदर थानामा एससी एसटी प्रिवेन्शन अफ् एट्रोसिटी एक्ट अन्तर्गत मुद्दा लागिरहेको समय गणेश राई भने यता मल्लीमा आज श्रमदानमा व्यस्त देखियो। सिटिजन एक्शन पार्टी, सिक्किमको युवा परिषदले मल्लीडाँड़ामा सड़क रमम्मतिको निम्ति आयोजना गरेको श्रमदान कार्यक्रममा राईले सहभागिता जनाएका हुन्।
उल्लेखनीय छ, राज्यको प्रमुख विपक्षी पार्टी बन्न पुगेको सिटिजन एक्शन पार्टी, सिक्किमको युवा परिषदले राज्यभरिका युवाहरूलाई सामाजिक कार्यहरूमा संलग्न बनाउने उद्देश्यले विभिन्न स्थानमा श्रमदान कार्यक्रम आयोजना गर्दै आएको छ। यसै क्रममा आज मल्लीडाँड़ामा श्रमदानमा सड़क मरम्मतिको कार्यक्रम आयोजना गरेको थियो।
यस अवसरमा छोटो सम्बोधन राख्दै गणेश राईले पार्टी कार्यकर्ता अनि अन्य स्वंयसेवीहरूलाई सामुहिक फायदाको निम्ति कुनै न कुनै स्वरुपमा योगदान दिने अपील गरे। यस प्रकारको कामले समाजको धरातल बलियो हुने उनको भनाइ रहेको छ। उनले केही वर्ष अघि टिस्टा नदिमा आएको विनशकारी बाढ़ीको समय पार्टीको युवा परिषदले पुऱ्याएको योगदानको सम्झना गर्दै युवा जोशको प्रशंसा गरे।