कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा खिदिरपुर उत्सव, कलकत्ताले सजिलै क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा बिहीवार खेलिएको चरम एकतर्फी म्याचमा खिदिरपुर उत्सवले सदर्न समिति नर्थ बेंगलविरुद्ध ६-० ले जीत हासिल गऱ्यो। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा स्थानीय टीमहरूको साथमा सिक्किम, मणिपुर, भूटान, बोडोल्याण्ड (असम), झारखण्ड, कलकत्ता र नर्थ-ईष्टर्न रेलवे को टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्। शनिवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा जर्जियन फूटबल क्लब र कालेबुङ पुलिसबीच भिड़न्त हुनेछ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





