खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको आयोजनामा महानदीको तिरसठ पाखास्थित सार्वजनिक भवनमा स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता तारानाथ शर्माले गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ खण्डको अतिरिक्त खण्ड विकास अधिकारी पेमा डोमा डुक्पा, घुम्ती चियाबारीको प्रबन्धक दिनेशकुमार सिंह, सिविटार चियाबारीको प्रबन्धक रजत थापा, गिताङ्गे चियाबारीको प्रबन्धक राकेश चौधरी, एएनएम बिशाखा छेत्री, नवराज राई, ग्राम सुधार समिति तिरसठको सुजन तामाङ, शिक्षक महेन्द्र छेत्री, शिक्षिका डोल्मु शेर्पा लगायत अन्यहरू उपस्थित रहेका थिए।

पञ्चायतकर्मी राजीव तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण खरसाङ खण्डको अतिरिक्त खण्ड विकास अधिकारी पेमा डोमा डुक्पाले राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन महानदी ग्राम पञ्चायतको सचिव शिमला लामाले राखेका थिए। कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रम लगायत कविता, नाटक र विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सभासद नवराज छेत्रीले स्वच्छ भारत मिशन अन्तर्गत फोहोर मैला प्रबन्धन विभागमा खरसाङमा आफ्नो सातवटा समष्टिहरूलाई तक्निकी रूपमा र आर्थिक रूपमा सहयोग गरेर अघि लाने अनि निर्मल समष्टी बनाउन कार्य गर्ने पनि बताएका छन्। कार्यक्रममा स्वच्छ भारत मिशन र फोहोर मैला प्रबन्धन विषयमा जागरुकता कार्यक्रमसितै अन्तर्क्रियात्मक कार्यक्रम पनि सम्पन्न गरिएको थियो।