खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा रङली रङ्लीयट खण्डमा दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता २०२५ शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा क्षेत्रीय सभासद ढेण्डुप पाख्रिन, एसआई, एएसआई लगायत शिक्षक शिक्षिकाहरु र अभिभावकहरु उपस्थित रहेका थिए।

गत ४ सेप्टेम्बर गोरुबथानबाट शुरु भएको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता बुधबार मिरिक, बिहीबार खरसाङ र शुक्रबार रङ्ली रङ्लियट खण्डमा सम्पन्न भएको छ भने शनिवार सोनादामा र फाइनल आगामी १४ नोभेम्बरमा सुकनामा आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलनसहित राष्ट्रिय गान गाएर शुरु गरिएको थियो। यस पाठशाला स्तरीय प्रनोत्तरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले जीटीए प्रमुख अनित थापाको निर्देशनमा गत वर्षदेखि प्राथमिक पाठशालाहरुलाई लिएर प्रश्नोत्तर प्रतियोगिता शुरु गरिएको र यो आयोजनाको उद्देश्य कतिको गहकिलो छ भन्ने मञ्च हो भनी बताएका छन्। उनले प्रतियोगितामा जीत ठूलो कुरा होइन तर प्रतियोगितामा सहभागी हुनु नै ठूलो कुरा हो र यसले नानीहरुको शिक्षाको स्तर बढेको बताए। चौहानले भने, यो शिक्षक शिक्षिकाहरु कतिको स्कूल गईरहेका छन् र कतिको लगनशील र परिश्रमी छन् भन्ने प्रमाण हो।’

उनले यसपाली नानीहरुलाई सिलगढी क्षेत्रमा घुमाउनु लाने कुरा बताउँदै सरकारी स्कूलहरुमा पनि विभिन्न क्रियाकलापहरु आयोजना गरिन्छ भन्ने प्रमाण हो यो भनी बताए। राजेस चौहानले २०२६ देखि प्राथमिक पाठशालाहरुमा जोइफूल लर्निङ शुरु गरिने बताए। उनले अब सरकारी स्कूलहरु पनि निजी स्कूलहरुभन्दा कम हुनु हुँदैन भनी बताउँदै नानीहरुको खेलकूदमा पनि ध्यान दिने बताए। उनले यसपाली बाल दिवसको अवसरमा नोट क्यामको उत्कृष्ट कार्य गर्ने १३ वटै क्षेत्रका स्कूलहरुलाई जीटीए प्रमुख अनित थापाको बाहुलीबाट सम्मान जनाउने घोषणा गरेका छन्। उनले जीटीए क्षेत्रमा ५० वटा नयाँ प्राथमिक पाठशाला भवनहरु निर्माण गरिने बताएका छन्। कार्यक्रममा सहभागी र विजेता विद्यार्थी नानीहरुलाई प्रमुख अतिथि राजेस चौहानको बाहुलीबाट पारितोषिक वितरण गरिएको थियो भने अतिथिहरुलाई पनि उपहार प्रदान गरिएको थियो।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





