गान्तोक: भारत-चीन सीमा क्षेत्र नथुलामा आज ५८औं नथुला विजय दिवस मनाइयो। यस अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित थिए।
यस दिनले १९६७ मा नथुलामा चिनियाँ सेनाको आक्रमणको सामना गर्दै भारतीय सैनिकहरूले देखाएको असाधारण साहस र विजयको सम्मान गर्दछ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सम्पूर्ण भारतीय सेना, विशेष गरी नथुलामा सेवा दिइरहेका वीर सिपाहीहरूलाई हार्दिक बधाई दिए र राष्ट्रको रक्षा गर्न जारी राख्दै बलिदान दिने वीरहरूप्रति गहिरो सम्मान व्यक्त गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत सीमा क्षेत्रका गाउॅंहरूमा विकास, सम्पर्क र सुरक्षा सुनिश्चित गर्ने उल्लेखनीय कार्य भएको बताए।
राज्य सरकारका पहलहरूमाथि प्रकाश पार्दै मुख्यमन्त्रीले भने, अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य बनेको छ। उनले शहीद परिवारहरूको लागि नियुक्तिहरू पनि लागू गरिएको बताए, जसले राज्य सरकारको सैनिक कल्याणप्रतिको गहिरो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उनले कार्यक्रमको सफलता सुनिश्चित गर्न पर्दा पछाडि समर्पणका साथ काम गर्ने भारतीय सेनाका जवानहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
कार्यक्रमलाई राज्यपालले पनि सम्बोधन गरेका थिए। यस अवसरमा विधायक पामिन लेप्चा, १७ माउण्टने डिभिजनका जीओसी मेजर जनरल एमएस राठौड, मेजर जनरल सगत सिंहका परिवार तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।