खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनभित्र पर्ने आँगनबाड़ी कर्मीहरूद्वारा सिलिम हिलमा सुपोषण महिना कार्यक्रम अन्तर्गत जातीय खाद्य प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। घैयाबारी ग्राम पञ्चायत तीनभित्र पर्ने १९ वटा आँगनबाड़ी केन्द्रहरूको आयोजनमा आँगनबाड़ी कर्मीहरूको सुपर भाइजर डोमा यल्मोको अगुवाईमा उक्त कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत तीनको सचिव अर्पण छेत्री उपस्थित रहेका थिए भने चाइल्ड लाइन खरसाङकी ईसा लेप्चा, स्यागबाट सुसाङ्ग लामा, स्वास्थ्य विभागबाट घैयाबारीका एएनएमद्वय बबिता दर्नाल र कल्याणी तामाङ, आँगनवाडी कर्मीहरू, सहायक कर्मीहरू, आशकर्मीहरू, नानीहरू र अभिभावकहरू लगायत अन्यहरू उपस्थित रहेका थिए।

कार्यक्रमलाई सुपर भाइजर डोमा यल्मोले सञ्चालन गरेका थिए। उक्त कार्यक्रम राष्ट्रीय सुपोषण महिना अन्तर्गत नानीहरूलाई कुपोषणबाट बचाउन तथा सुपोषणको लागि अनि राष्ट्रिय सुपोषण महिना विषयमा जानकारी गराउन रहेको थियो। उक्त कार्यक्रममा नेपाली जातीय विभिन्न प्रकारका भोजनहरू प्रदर्शन गरिएको थियो। यस अन्तर्गत गुन्द्रुकको अचार सिद्राको अचार, ढेढ़ो, सिस्नु, फिलेङ्गेको अचार, डल्ले खोर्सानी, क्वाँटी, सेलरोटी, कोदोको रोटी, फापरको रोटी, कौड़ी, मकैको भात, सिमल तरूल, अण्डा, विभिन्न प्रकारका दालहरू, हरियो साग सब्जीहरू, फल फूलहरू लगायत अन्यहरू प्रदर्शनीमा राखिएको थियो।
कार्यक्रममा गीत, नृत्य आदि प्रस्तुत गरिएको थियो भने नानीहरूले जातीय वेशभूषा लगाएर प्रदर्शन गरेका थिए। कार्यक्रममा आँगनवाडी कर्मीहरू, सहायक कर्मीहरू र आशाकर्मीहरूले विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा सुपर भाइजर डोमा यल्मोले राष्ट्रीय सुपोषण महिना कार्यक्रम र आजको नेपाली जातीय भोजन प्रदर्शनी कार्यक्रम विषयमा वक्तव्य राखेका थिए। उनले सन्तुलित आहार र पौष्टिक आहार विषयमा जानकारी गराउँदै कस्तो प्रकारले खाना पकाउनु पर्ने र कस्ता कस्ता खानाहरू खानु पर्ने विषयमा जागरूकता गराएका थिए। उनले आज सिकेको कुराहरू सबैले गाउँमा भन्नु पर्ने आह्वान् पनि गरेका थिए। त्यसरी नै कार्यक्रममा स्वास्थ्य विषयमा एएनएम कल्याणी तामाङले अनि चाइल्ड लाइन खरसाङकी ईसा लेप्चा, सुसाङ्ग लामा, प्रमुख अतिथि घैयाबारी ग्राम पञ्चायत तीनको सचिव अर्पण छेत्री आदिले वक्तव्य राखेका थिए।

आजको कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको आँगनवाडी कर्मीहरूको सुपर भाइजर डोमा यल्मोले आज घैयाबारी ग्राम पञ्चायत तीनभित्र पर्ने १९ वटा आँगनबाड़ी केन्द्रका आँगनबाड़ी कर्मीहरू र सहायकहरू कर्मीहरूद्वारा राष्ट्रिय सुपोषण महिना अन्तर्गत जातीय खाद्य प्रदर्शनी कार्यक्रम सम्पन्न भएको बताइन्। सुपर भाइजर डोमा यल्मोले यो कार्यक्रम राख्नुको मुख्य उद्देश्य मातृ मृत्यु दर कम गर्नु र शिशु मृत्यु दर कम गर्नु साथै सन्तुलित आहार र पौष्टिक आहार विषयमा जागरूकता गराउन कार्यक्रम गरिएको बताइन्। उनले हामीलाई सरकारबाट नै सन्तुलित र पौष्टिक आहारको लागि जातीय खाद्य प्रदर्शनी गरिनु पर्ने भएकोले यो कार्यक्रम गरिएको जानकारी गराएकी छन्।