राज्यपाल र मुख्यमन्त्रीले शहीदहरूलाई अर्पण गरे श्रद्धाञ्जली
गान्तोक: १९६७ मा सिक्किमको नथुला सीमामा भएको भारत–चीन युद्धमा भारतीय सेनाले देखाएको अदम्य साहस र वीरतालाई सम्झना गर्दै आज ५९औं नथुला विजय दिवस उत्साहका साथ मनाइयो।
यस अवसरमा सेनाले शेरेथाङस्थित वार मेमोरियल, नथुला सीमा तथा शेरेथाङ सेडमा विशेष कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, क्षेत्रीय विधायक पामिन लेप्चा, भारतीय सेनाका अधिकारी तथा जवानहरूको उपस्थिति रहेको थियो। साथै, युद्धका नायक तत्कालीन लफ्टिनेन्ट जनरल सगतसिंहका परिवारजन पनि विशेष रूपमा सहभागी भए।
कार्यक्रममा १९६७ को युद्धमा शहीद भएका भारतीय सैनिकहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। त्यसपछि नथुला सीमामा लफ्टिनेन्ट जनरल सगतसिंहको प्रतिमाको अनावरण गरिएको थियो। राजस्थानमा जन्मिएका सगतसिंहलाई भारतका साहसी र रणनीतिक दृष्टिले सक्षम कमाण्डरका रूपमा स्मरण गरिन्छ।
गत वर्षसम्म यस दिनलाई नाथुला दिवसका रूपमा मनाइँदै आएकोमा, यस वर्षदेखि राज्यपालको सुझावअनुसार औपचारिक रूपमा नथुला विजय दिवसका रूपमा मनाउन थालिएको हो।
उक्त युद्धमा करिब ६५ भारतीय सैनिक शहीद भएका थिए भने ३८५ भन्दा बढी चिनियाँ सैनिक मारिएका थिए। अन्ततः चीनले भारतको नियन्त्रण स्वीकार्दै १९६७ सेप्टेम्बर ११मा युद्धविरामको घोषणा गरेको थियो।
राज्यपाल माथुरले नथुला विजय दिवसलाई भारतको साहस र राष्ट्रिय गौरवको प्रतीकका रूपमा व्याख्या गरे भने मुख्यमन्त्री प्रेमसिंह तामाङले शहीदहरूको बलिदान भावी पुस्ताका लागि प्रेरणादायी हुने बताए।

यसै अवसरमा नथुला युद्धमा आधारित चलचित्र सेभियर को ट्रेलर पनि सार्वजनिक गरियो।