गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को नाम्ची जिल्ला कार्यकारी समितिको सभा आज अप्पर सदाममा सम्पन्न भयो। सभालाई जिल्ला चेली प्रभारी श्रीमती अनिता गौतमले अध्यक्षता गरेकी थिइन् भने जिल्ला कार्यकारी सभापति रमेश किराँत साथै अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
सभामा राज्यमा हालका समय देखा परेका कथित भाइभतिजावाद, पार्टीवाजी र सरकारको पक्षपाती नीतिमाथि चर्चा भएको पार्टीले विज्ञप्ती जारी गरेर बताएको छ। यसको साथै गत विधानसभा चुनाउमा चुनाउ अधिकारीहरूको असन्तोषजनक भूमिकामाथि पनि सभामा चर्चा गरिएको विज्ञप्तीमा थप उल्लेख गरिएको छ।
यसरी नै सभामा जिल्लामा सङ्गठन विस्तारको बारेमा पनि विस्तृत रुपमा चर्चा गरिएको थियो। अबदेखि जिल्लामा निरन्तर कार्यक्रमहरू गरेर पार्टीलाई अझ बलियो बनाउने पनि सभाले प्रस्ताव ग्रहण गरेको छ। सभामा सहभागी सदस्यहरूले सिक्किममा महापरिवर्तनको खाँचो भएको एकमत प्रकट गर्दै, सरकारले आफ्ना नीतिहरूमा सुधार गरी आम जनतालाई बराबरी न्याय दिनुपर्नेमा कुरामा जोर दिए।