युवा पुस्ताले पुराना पारम्परिक विशेषताहरुको ज्ञान राख्नुपर्छः सीपी शर्मा
गान्तोक: सिक्किम अकादेमीले साहित्यकार तथा सांस्कृतिक व्यक्तित्व दिवङ्गत पदमसिंह सुब्बा अपतनको जन्मजयन्तीको अवसरमा बुधबार गान्तोकस्थित मनन केन्द्रको मिनी थिएटरमा ९ औँ पदमसिंह अपातन स्मृति व्याख्यान २०२५ आयोजना गऱ्यो। यस वर्षको व्याख्यान “शब्दपारको ज्ञान: साहित्य, दर्शन र जीवन” विषयमा केन्द्रित रहेको थियो। जसलाई सिक्किम विश्वविद्यालयका प्रोफेसर युडिडा भोटियाले प्रस्तुत गरिन्। प्रोफेसर भोटियाले साहित्य, दार्शनिक चिन्तन र जीवनकला बीचको अन्तरनिहित सम्बन्धलाई प्रकाश पार्दै सहभागीहरूलाई सिर्जनात्मक र बौद्धिक साधनमार्फत ज्ञानको खोजी गर्न प्रोत्साहित गरे। उनले ग्रीक दर्शनका संस्थापक सुकरात, प्लेटोको विभिन्न विचारहरूलाई प्रकाश पारिन भने पूर्वीय दर्शनमा रहेको गीता जस्ता ग्रन्थको महत्वबारे पनि गम्भीर जानकारी प्रस्तुत गरिन्। कार्यक्रममा सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बाले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्न तथा जीवनलाई सार्थक बनाउन प्रयासशील रहन आग्रह गरे। उनले अपतन सुब्बाको योगदान लगायत अन्य विषयमा प्रत्येक वर्ष व्याख्यान आयोजन गरेर युवा पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने परम्परा राखेको बताए। यसैगरि डा. दिना सुब्बाले प्रोफेसर भुटियाको परिचय प्रस्तुत गरिन् भने पूर्ण योञ्जनले सञ्चाल गरे। कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सङ्गिनी नृत्य तथा नेपाली लोकनृत्य प्रस्तुत गरियो। तपश्री डान्स एकेडेमीकी निर्देशक कोमल गुरुङलाई सिक्किम राज्यत्वको ५०औँ वर्षगाँठका अवसरमा प्रस्तुत नृत्यमार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकोमा सम्मानित गरियो। कार्यक्रमका प्रमुख अतिथि इन्सटीट्युड फर ट्रान्सफर्मिङ सिक्किम (आइटीएस) का उपाध्यक्ष सीपी शर्मा रहेका थिए। उनले आफ्नो सम्बोधनमा पदमसिंह सुब्बा अपतनको सिक्किमेली साहित्यप्रतिको योगदानको प्रशंसा गर्दै नयाँ पुस्तालाई जीवनबाट प्रेरणा लिन आग्रह गरे। उनी स्वयं गाउँले समेत रहेको हुनाले उनको व्यक्तित्वबाट प्रभावित बनेको बताए। यसैगरि उनले युवा पुस्तामा पुराना परम्परागत कुराहरूबारे जानकारी रहनुपर्ने बताए। उनले भने, हाम्रा पुर्खाहरू वैज्ञानिक थिए जसले परम्परागत र लोक निर्माण कार्यहरू गणित, विज्ञान र अन्य वैज्ञानिक ज्ञान आउन भन्दा पहिले अनुभव अनि अभ्यासबाट सम्पन्न गराएको बताए। उनले यसलाई पुष्टि गर्ने धेरै महत्वपूर्ण सन्दर्भ र उदाहरण प्रस्तुत गरे। राज्यभरिका लेखक, शैक्षिक व्यक्तित्व, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागितामा सम्पन्न यस कार्यक्रममा पदमसिंह सुब्बा अपतनको साहित्यिक र सांस्कृतिक योगदानलाई स्मरण गर्दै उनको दीर्घकालीन प्रभावलाई सार्थक श्रद्धाञ्जली अर्पण गरियो।