गेजिङ: भारत सरकारको गृह मन्त्रालयअन्तर्गत राजभाषा विभागको नीतिगत निर्देशनअनुसार हि–याङथाङ उच्चतर माध्यमिक विद्यालयमा हिन्दी पखवाड़ा–२०२५ उत्साहका साथ सम्पन्न गरियो। यस अवसरमा विद्यालयमा विभिन्न प्रतियोगिताहरू आयोजन गरिएका थिए। जसमा तर्क प्रतियोगिता, हिन्दी श्रुतिलेख, निबन्ध वाचन, आलेखन, टङ्कण, प्रश्नोत्तरी तथा आशुवाक प्रतियोगिता रहेका थिए। प्रतियोगितामा हिन्दी भाषी विद्यार्थी तथा कर्मचारीलाई प्रोत्साहन गरिएको थियो। पखवाड़ा अवधि विभिन्न गतिविधिहरू आयोजन गरिँदै आएको थियो भने ११ सेप्टेम्बरको दिन हिन्दी कार्यशाला सम्पन्न गरिएको थियो। कार्यशालामा विद्यालयका प्राचार्य नारायण बस्नेत, उपप्राचार्य हरि छेत्री, शिक्षक पीबी छेत्री, लोकनाथ शर्मा, केएन शर्मा लगायतका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। यस अवसरमा शिक्षक केएन शर्माले राजभाषा नीति, तिमाही प्रगति प्रतिवेदन तथा हिन्दीमा काम गर्ने सहज सुविधा र चुनौतिहरूबारे उपयोगी वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रमको अर्को आकर्षण हिन्दी दिवस–२०२५ को भाषण थियो। जुन विद्यार्थी किडेन्ला भोटिया अनि निर्जला छेत्रीले प्रस्तुत गरे। उनले यस वर्षको विश्व हिन्दी दिवस २०२५ को थीम “हिन्दी: एकता र सांस्कृतिक गौरव की वैश्विक आवाज” माथि बोल्दै हिन्दी भाषाको अन्तर्राष्ट्रिय प्रभाव र महत्वलाई जोड दिए।
प्राचार्य बस्नेतले विद्यालयस्तरमै हिन्दी शिक्षण–अध्ययन सुदृढ भइरहेको उल्लेख गर्दै विद्यार्थीहरूले मातृभाषासँगै हिन्दी भाषा प्रतिको लगाव, संरक्षण र सम्बर्द्धनमा दक्ष हुनुपर्ने सुझाव प्रस्तुत गरे। यसरी सम्पन्न ‘हिन्दी पखवाड़ा–२०२५’ ले विद्यालयमा भाषा–प्रति जागरण, साहित्यिक अभिरुचि अभिवृद्धि, रचनात्मक क्षमताको विकास र विद्यार्थी तथा कर्मचारीबीच आत्मीयता र एकता सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याकएको छ।