गेजिङ: गेजिङका जिल्लापाल तेञ्जिङ डी डेन्जोङ्पाले आज लिङ्चोम–तिक्जेक ग्राम पञ्चायत यूनिटअन्तर्गत पर्ने पेलिङ–डेन्ताम सडक खण्डको खोरुङ अप्पर लिङ्चोम पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे। गए राति लगातारको भारी वर्षाका कारण पैह्रो गएको थियो। जिल्ला प्रशासकले प्रभावित स्थलको निरीक्षण गर्दै स्थानीय बिमला गुरुङको घरसहित अन्य आठ घरमा पुगेको क्षतिको विस्तृत समीक्षा गरे। प्रभावित आठ घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ। जिल्लापाल डेन्जोङ्पाले प्रभावित बासिन्दाहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्याबारे गम्भीरतापूर्वक जायजा लिए। जिल्ला आपदा प्रबन्धन प्राधिकरण गेजिङले प्रभावित क्षेत्रमा निरन्तर सहयोग गर्ने आश्वासन दिएको छ। डेन्जोङ्पाले बाटोमा थुप्रिएको माटो र लेदो हटाउन दुईवटा जेसीबी परिचालन गरिसकेको र थप दुईवटा शीघ्र आउने तयारीमा रहेको जानकारी दिए। देन्ताम आवतजावत गर्ने सर्वसाधारणलाई वैकल्पिक रूपमा लिङ्चोम सडक प्रयोग गर्न सुझाव दिए। जिल्ला प्रशासकसँगै ग्राम विकास विभागका अध्यक्ष नारायण खतिवडा, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अधिकारी गणेशकुमार राई, पञ्चायत पदाधिकारी, समुदायका प्रतिनिधि तथा अधिकारीहरु उपस्थित रहेका थिए।