सिलगढी: बुकएन्ट पब्लिकेशन हाउसले आफ्नो नयाँ कार्यालयको उद्घाटन सिलगढ़ीको वीर जवान चोक, गुरुङ नगरस्थित भानुभक्त समिति भवनमा साहित्य, कला र सङ्गीतको रमाइलो सङ्गम बनेको भव्य समारोहमाझ सम्पन्न गर्यो। रङ्गारङ्ग अनुष्ठानमा कविता वाचन, सङ्गीत, लाइभ आर्ट कार्यशाला र आवरण लोकार्पण कार्यक्रमहरू समावेश थिए। जसमा दार्जीलिङ, सिक्किम, कालेबुङ, खरसाङ, मिरिक र सिलगढ़ी वरिपरिका प्रतिष्ठित लेखक, पाठक, बुद्धिजीवी, कलाकार र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य दिँदै बुकएन्ट पब्लिकेशन हाउस-का निर्देशक राजा पुनियानीले भने, “हामी यसै क्षेत्रबाट प्रकाशनको स्तरीय मापदण्ड स्थापित गर्ने प्रयास गर्दै आएका छौँ। स्थानीय लेखक र क्षेत्रीय आवाजलाई प्रवर्धन गरी यहाँका जनताको सपना र आकांक्षाहरू मुख्यधारामा प्रवाहित गराउनु हाम्रो मुख्य लक्ष्य हो।” उनले थपे, केवल तीन वर्षको यात्रामा नै बुकएन्टले अमेजन वितरण प्रणाली एवं एफएससी प्रमाणित कागज प्रयोग सुरु गरेको र दिगो प्रकाशन अभ्यास जस्ता उल्लेखनीय उपलब्धि प्राप्त गरिसकेको छ। स्यालामेण्डर इम्प्रिन्ट्स-को आधिकारिक उद्घाटन डिजिटल्ली गरिएपछि द कर्ड-भारत-का निर्देशक राहुल सम्भवी सिन्हाले आफ्नो सम्बोधन राख्दै औपचारिक घोषणा गरे। स्यालामेण्डर इम्प्रिन्ट्स बुकएन्टको नयाँ इम्प्रिन्ट (शाखा) हो जसले शास्त्रीय साहित्य, दुर्लभ ग्रन्थ र गुणस्तरीय आधुनिक साहित्य प्रकाशन गर्ने योजना अघि ल्याएको छ। त्यसपछि ख्यातिप्राप्त इतिहासकार डा. कुमार प्रधानको ऐतिहासिक ग्रन्थ “द गोर्खा कन्क्वेस्ट्स : द प्रोसेस एण्ड कन्जिक्वेन्सेस अफ द युनिफिकेसन अफ नेपाल विथ पर्टिकुलर रेफरेन्स अफ इस्टर्न नेपाल” र डा. प्रधानकै अर्को ऐतिहासिक ग्रन्थ “पहिलो पहर”-को आवरण डिजिटल्ली विमोचित गरियो। डॉ. विनायक सुन्दास, निर्देशक, हिमालयन स्टडीज सेन्टर, उत्तरबंग विश्वविद्यालय,ले सारगर्भित ढङ्गमा कृति परिचयन प्रस्तुत गरे।

विशेष ध्यान खिच्ने अर्को विमोचन थियो दार्जीलिङकी प्रख्यात् लेखक/अनुवादक/पत्रकार शारदा छेत्रीको अंग्रेजी उपन्यास “अ लिगेसी अफ सरो ‘अ स्टोरी फ्रम दार्जीलिङ”। गोर्खाल्याण्ड आन्दोलनमा नारी वर्गको भूमिका एवं दार्जीलिङको सामाजिक-सांस्कृतिक पृष्ठभूमिमा आधारित यस कृतिको परिचयन राख्दै शारदा क्षेत्रीले आफ्नो सृजनात्मक यात्रा र प्रेरणाबारे आत्मीय सम्बोधन पेश गरिन्।
त्यसै गरी, अर्को महत्वपूर्ण साहित्यिक घोषणा थियो “कुची कलम”, विख्यात् कलाकार र लेखक लैनसिंह बाङ्देलको लामो समयदेखि अप्रकाशित आत्मकथा-को आवरण विमोचन। यस पुस्तकलाई स्यालामेण्डर इम्प्रिन्ट्स र लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान, कलकत्ताको सहकार्यमा प्रकाशित गरिनेछ।
कार्यक्रमको अर्को भावपूर्ण अंश थियो सम्मान समारोह, जसमा भानुभक्त समितिका सचिव एवं समाजसेवी कृष्ण लामा, दार्जीलिङ जिल्ला पुस्तकालय अधिकारी अमृत सुब्बा, कञ्चनजङ्गा उद्धार केन्द्रकी सचिव रङ्गु सौरिया र द कर्ड-भारत-का निर्देशक राहुल सम्भवी सिन्हालाई नेपाली टोपी, खुकुरी, बिरुवा र सम्मानपत्रद्वारा सम्मानित गरियो। अतिथि वक्ताका रूपमा अमृत सुब्बा, कृष्ण लामा, टेक्नो इन्डिया ग्रुपका एजीएम निर्माल्य आचार्जी र प्रा. डा. धनीराज छेत्रीले बुकएण्ट-को नयाँ सुरुवातका लागि शुभकामना व्यक्त गरे। सांस्कृतिक कार्यक्रममा आर्ट जोन, सिलगढ़ीसँगको सहकार्यमा लिटन साहाले संयोजन गरेको लाइभ आर्ट कार्यशप आयोजना गरियो। वरिष्ठ कलाकार तथा वन विभागका अधिकृत हरिश सुब्बाका कलाकृतिहरू प्रदर्शित गरिएका थिए भने मिलन राई, विपुल राय, शुभेन्दु चक्रवर्ती, राजीव बाग, देविका साहा, रोजिना यास्मिन, मनोज पाल, जोनकी पाल, र सिम्रन सिन्धुसहितका कलाकारहरूले लाइभ चित्रकला कार्यशाला प्रस्तुत गरे। सङ्गीत प्रस्तुतिमा जुनु गौतम, महेश सेवा र अनिर तामाङ (दार्जीलिङे कान्छा)-ले श्रोताको मन जिते। अमला सुब्बा छेत्री, राजु प्रधान हिमांशु, नीलम तामाङ, आशिष प्रियदर्शी राई, मेनका तामाङ, प्रदीप शेर्पा, विनोद रसाइली र डा. नीना राई-ले कविता वाचन गरे । समीर शर्माले मार्मिक गजल प्रस्तुत गरे। कार्यक्रमका शो-स्टपर प्रस्तुति कवि तथा फिल्ममेकर, पोएट आइडोल फाइनलिस्ट पल्लविब राईको थियो, जसले आफ्ना कविताहरू अनिर तामाङको लाइभ सङ्गीतसँगै मनमोहक शैलीमा वाचन गरे।
अनुष्ठानमा अन्य विशिष्ट व्यक्तिहरू पनि सहभागी भए, जसमा लोकप्रिय आरजे प्रबल, सामाजिक सञ्जाल प्रभावक स्टार सपन, शिक्षा सल्लाहकार गायत्री राई, राजनीतिक लेखक भोटु सिंह छेत्री, वरिष्ठ कवि पदम क्षेत्री, शिक्षाविद् डा. विनायक सुन्दास, लेखक–नाट्यकर्मी कृष्ण प्रधान, अनुवादक–लेखक जीत सुनार, काउन्सिलर डा. हेमन्त काफ्ले, रेडियोलोजिस्ट डा. खिलनाथ शर्मा, सामाजिक कार्यकर्ता सुधा पासी, उद्यमी अनन्त गोम्देन, शिक्षाविद् हनिशा थापा, साहित्यकार मेघनाथ छेत्री, नाट्यकर्मी सरस्वती शेर्पा, समाजसेवी नरेन्द्र परियार, वरिष्ठ पत्रकार अनुराधा शर्मा, प्रकाशक लेखा राई, समाजसेवी अभय प्रधान, अधिवक्ता विरेन्द्र रसाइली, कवि तथा राजनीतिक कार्यकर्ता सकल युलिसस देवान, र साहित्यिक कार्यकर्ता मीरा गजमेर अरोरा लगायत उपस्थित थिए।