खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीको मालिकले २०२४-२०२५ अर्थात् यस वर्षको पूजा बोनस दुइ किस्ती गरेर केवल १० प्रतिशत मात्र दिने भन्दै गत ६ सेप्टेम्बरको दिन श्रम विभागलाई पत्राचार गरेका थिए। यस अघि नै हिल प्लान्टेशन इम्प्लोइज युनियनको तर्फबाट प्रबन्धक एपी सिंहसँग भेट गरेर १० सेप्टेम्बरसम्म २० प्रतिशत बोनस वितरण गर्नु पर्ने माग राखेको थियो। तर १० सेप्टेम्बर बितेर जाँदा पनि बोनसबारे कुनै प्रकारको निर्णय नदिएपछि बिहीबार ११ सेप्टेम्बर २०२५ बाट लङ्भ्यू चियाबारीको श्रमिकहरूले गेट मिटिङ शुरू गरेका छन्। स्मरण रहोस्, विगत वर्ष पनि ३४ दिनको अनशनपछि मात्र लङभ्यू कमानका श्रमिकहरुले बोनस पाएका थिए। यसको साथै यस वर्षको फर्स्ट फ्लसको समय पनि श्रमिकहरूले कम्पनीसँग वार्ताको माग गरेका थिए। तर कम्पनी पक्षले श्रमिकहरूको वार्ताको मागलाई बलपूर्वक दमन गरेको हिल प्लान्टेशन इम्प्लोइज युनियनको तर्फबाट बताइएको छ।

लङ्भ्यू चियाबारीमा बिहीबारदेखि गेट मिटिङ शुरू भएको छ भने सरकारी एडभाइजरी मियाद अनुसार २० प्रतिशत बोनस एकै किस्तीमा नदिए गेट मिटिङले सडक आन्दोलनको रूप लिन सक्ने छाट देखिएको पनि युनियन पक्षले बताएको छ।