२२ सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा आयोजक स्कूलको टीमले सेमिफाइनलमा स्थान बनायो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा बिहीवार सेण्ट रोबर्टस स्कूल यल्लो-ले नोट्रे डेम एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रतीत छेत्रीले ३०औं र ४०औं मिनटमा २ गोल गरे। यसबाहेक नसीब राईले ४५औं मिनटमा अझ एक गोल गरे।

नोट्रे डेम एकाडमीका आह्वान राईलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको विजेता सेण्ट रोबर्टस स्कूल यल्लोले अब २७ सेप्टेम्बरको दिन खेलिने सेमिफाइनलमा सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको चुनौती स्वीकार्नेछ। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यी २० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।