खरसाङ: पश्चिम बंगाल सरकारको श्रम विभागको निर्देशनमा खरसाङ महकुमा श्रम आयुक्त कार्यालयको पहलमा खरसाङको बस बिसाउनी परिसरमा परिवहन श्रमिकहरूको लागि विशेष सचेतना शिविर सम्पन्न भएको छ। उक्त शिविरमा खरसाङ शहर क्षेत्रका परिवहन चालकहरु, खलासी एवं सेण्डीकेट चलाउने दाजुभाइहरूलाई लिएर सचेतना कार्यक्रम रहेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङ, भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ ट्रफिक ओसी बीरेन्द्र छेत्री उपस्थित रहेका थिए।

पश्चिम बंगाल सूचना एवं सांस्कृतिक विभाग खरसाङको पक्षबाट एनटी शेर्पा एवं सांस्कृतिक टोली उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथिको रुपमा उपस्थित सभासद श्याम शेर्पाले आफ्नो सम्बोधनमा चालक दाजु भाईहरुका लागि यो सचेतना कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै यस विषयमा सबैजना पहिलेबाटै सचेत भएको राम्रो हो भनी बताएका छन्। उनले दुर्घटना अचानक हुन्छ र त्यस समय के कसो गर्नु पर्ने र सरकारले के कस्तो सहुलियतहरु दिएको छ त्यो बुझ्नु जरुरी रहेको बताए। सभासद श्याम शेर्पाले यस्ता शिविरहरु ग्रामीण क्षेत्रमा पनि आयोजना गरिएको खण्डमा असल हुने पनि बताएका छन्। उनले सरकारबाट प्राप्त गर्ने सहुलियत विषयमा चालकहरुले जानकारी लिएको राम्रो हुने पनि बताएका छन्। कार्यक्रमलाई खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, संयुक्त श्रमायुक्त उगे भोटिया र विभागको इन्स्पेक्टर अमीत लिम्बुले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा पेन्सनबाहेक अतिरिक्त लाभ विषयमा सचेतना गराइएको छ। चालकवर्गको हित एवं शारीरिक सुरक्षा लिएर सरकारबाट पाउने सहुलियतहरु एवं पेन्सन योजना साथै आकस्मिक दुर्घटना भएर ज्यान गुमाउने चालकवर्गका परिवारजनले पारिवारिक सहयोग विषय लिएर जनचेतना शिविरमार्फत जानकारी गराइयो।

आजको सचेतना शिविरमा विगतका दिनहरूमा जस जसले उक्त परियोजना गरेका थिए तर उनीहरूको कसैको मृत्यु भए, कसैले पेन्सन पाउने समय भएका थिए उनीहरूलाई पारिवारिक सहुलियतको चेक प्रदान गरिएको छ। यस योजना अन्तर्गत ज्यान गुमाउनेको दुईजनाको परिवारलाई ५० हजार गरेर चेक वितरण गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै श्रम विभाग खरसाङका इन्स्पेक्टर अमीत लिम्बुले विस्तृत रुपमा जानकारी गराएका छन्।