गान्तोक: ट्राभल एजेन्ट्स एसोसिएसन अफ सिक्किम (टास) को कार्यकारी समितिले आज सिक्किम सरकारका सामाजिक कल्याण मन्त्री सान्दुप लेप्चा र सड़क एवं पुल मन्त्री एनबी दहालसँग भेटघाट गरेको छ। यस भेटमा टासले उत्तर सिक्किमका लागि पर्यटक परमिट पुनः खोलिएकोमा कृतज्ञता व्यक्त गरेको छ। यस अवसरमा, एसोसिएसनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दुरदर्शी नेतृत्व र राज्यको पर्यटन क्षेत्रको विकासप्रति उनको प्रतिबद्धताको प्रशंसा गरेको छ।
भारत सरकारद्वारा प्रस्तुत सीमा पर्यटनको अवधारणा अन्तर्गत डोकलाम र चोला जस्ता दुई नयाँ पर्यटकीय गन्तव्यहरू खोल्ने दूरदर्शी पहललाई टासले ऐतिहासिक कदमको रूपमा उल्लेख गरेको छ। यो निर्णयले सिक्किमको पर्यटन परिदृश्यलाई विविधीकरण गर्ने र देशको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सिक्किमको प्रतिष्ठालाई थप बलियो बनाउने टासको भनाइ रहेको छ।
टासले उत्तर सिक्किमको पुनः खुला र नयाँ गन्तव्यहरूको समावेशले स्थानीय समुदाय, उद्यमीहरू, र पर्यटनमा संलग्न सेवा प्रदायकहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने आशा व्यक्त गरेको छ। यी पहलहरूले पर्यटकहरूको आगमन बढाउने, रोजगारी सिर्जना गर्ने, जीविकोपार्जनलाई समर्थन गर्ने र राज्यको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने सङ्गठनको भनाइ रहेको छ।
यसको साथै बैठकमा भएको रचनात्मक छलफलमा टासले सिक्किम सरकारका सबै चालु र भविष्यका पहलहरूमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसको साथै कार्यकारी समितिले आफ्ना सदस्यहरूले पर्यटक आवागमन र नियमहरू सम्बन्धी सरकारी अधिसूचनाहरू, दिशानिर्देशहरू, र सुरक्षा प्रोटोकलहरूको कडाइका साथ पालना गर्ने, उच्च स्तरको सेवा, आगन्तुक सन्तुष्टि र सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिएको छ।