पाकिम: दस दिवसीय सचेतना अभियानको एक भागकोरूपमा आज पाकिम जिल्लाको पाचे वरिष्ठ माध्यमिक विद्यालयमा प्रधानमन्त्री कौशल योजना, उच्च शिक्षा, व्यवसायिक प्रशिक्षण र क्षमता विकास मार्फत महिलाहरूलाई सशक्तिरण गराउने विषयमाथि जागरूकता कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा उक्त विद्यालयका उप प्राचार्य भीसी शर्मा, शिक्षकवर्ग र विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाबारे विद्यार्थीहरूलाई अवगत गराउनु रहेको थियो। विशेष गरेर वर्तमान परिपेक्ष्यमा व्यवसायिक प्रशिक्षण लिन अति नै अनिवार्य हुने विषयमाथि विद्यार्थीहरूलाई सचेत गराउनु हो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्रोतवक्ताकोरूपमा प्रधानमन्त्री कौशल केन्द्रका प्रबन्धक आफताब अन्सारीले केन्द्र सरकारद्वारा शुरू गरेको यस अभियानको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूसँग अन्तर्क्रिया पनि गरे। यस अभियानअन्तर्गत विभिन्न विषयमाथि निःशुल्क प्रशिक्षण प्रदान गर्दै आइरहेको अवगत गराए। उनले योग्यता मापदण्ड, उमेर आवश्यकताहरू, पाठ्यक्रममा समेटिएको विषयमाथि जानकारी गराए। प्रबन्धक अन्सारीले प्रधानमन्त्री कौशल विकास योजना अन्तर्गत प्रशिक्षार्थीहरूले आफ्नो प्रशिक्षण पूरा गरेपछि सय प्रतिशक नौकरी पाउन सक्ने मन्तव्य प्रकट गरे। केन्द्र सरकारले रोजगारी बढाउन, आत्म-विश्वास बढाउन र वास्तविक जीवनका चुनौतीहरूको लागि युवाहरूलाई तयार पार्न व्यावसायिक प्रशिक्षण प्रदान गर्दै आएको अवगत गराए। विशेष गरेर उनले महिला सशक्तिकरणको महत्वमाथि जोड दिँदै महिलाहरूलाई व्यक्तिगत विकास र सामाजिक प्रगतिको मार्गको रूपमा उच्च शिक्षा र क्षमता विकास कार्यक्रमहरूमा सक्रियरूपमा अंशग्रहण प्रोत्साहित गरे। कार्यक्रमको प्रारम्भिक चरणमा लैङ्गिक विशेषज्ञ सुश्री कुसुम शर्माले आफ्नो स्वागत सम्बोधनमा युवा साथै विद्यार्थीहरूलाई यस विषयमा जागरूक गराउनु पर्ने विषयमाथि जोड दिइन्।