मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौं स्थापना दिवस समारोह मङ्पुको खेल मैदानमा सम्पन्न भएको छ। २०२१ सालमा अनित थापाको नेतृत्वमा पहाडमा राजनैतिक पार्टीको रुपमा स्थापना भएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज पाँचौं स्थापना दिवस समारोह भव्य रुपमा पालन गरेको छ। उक्त स्थापना दिवसमा उपस्थित हुन पुगेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापालाई पार्टी समर्थकहरुले भव्य स्वागत जनाएका थिए। पार्टी समर्थकहरुको जयजयकारको साथमा उपस्थित भएका पार्टी अध्यक्ष अनित थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दलीय झण्डा उत्तोलन गरेका थिए।

जीटीए क्षेत्रभरिबाट आएका समर्थकहरुका बीचमा पार्टी अध्यक्ष अनित थापालाई भव्य स्वागत गरिएको थियो। यस स्थापना दिवस कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको पदाधिकारीहरु, सभासदहरु, नारी, शक्ति, युवा शक्ति, श्रमिक संगठन लगायत विभिन्न भातृ संगठनका केन्द्रीय सभापति सचिव साथै अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौं स्थापना दिवस समारोहमा विभिन्न स्थानहरुबाट पार्टी समर्थकहरु र पार्टीको केन्द्रीय, महकुमा, समष्टि, ग्राम पञ्चायत र बुथ स्तरीय कमिटीको पदाधिकारीहरु उपस्थित रहेका थिए। यस पाँचौं स्थापना दिवस समारोहमा केन्द्रीय सांगठनिक सचिव साथै कार्यकारी सभासद रतन थापाले स्वागत सम्भाषण राखेका थिए।

कार्यक्रमलाई विज्ञान मिश्र, अनित खाती र बिभोर तामाङ आदिले सञ्चालन गरेका थिए। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिवेदन विस्तृत रुपमा केन्द्रीय महासचिव अमर लामाले राखेका थिए। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अहिलेसम्म गरेको विभिन्न कार्यहरु र विकासका विभिन्न कार्यहरु विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए।

कार्यक्रममा पार्टीको स्थापनाकालदेखि रहेका दिवंगत सदस्यहरुको स्मृतिमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गीत, नृत्य प्रस्तुत गरिएको थियो भने भाइलिनको धुन पनि प्रस्तुत गरिएको थियो।