भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौं स्थापना दिवसमा सिङ्गो गोर्खा हुने आह्वान्

IMG-20250909-WA0110

जात हाम्रो गोर्खा हो, भाषा हाम्रो नेपाली हो: अनित थापा

मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौ स्थापना दिवस समारोहमा बोल्दै पार्टी अध्यक्ष अनित थापाले पार्टीको नयाँ अभियानको घोषणा गर्दै भने, ” हामी समृद्ध हुँदैछौं तर अहिले गोर्खा जातीको संस्कृतिमाथि ठूलो खतरा अनि चुनौती आउँदैछ। यो चुनौतीलाई सामना गर्नु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मात्र होइन विमल गुरूङ पनि चाहिन्छ अजय एडवर्ड्स पनि चाहिन्छ।”
थापाले चुनौतीको बयान गर्दै भने, “अब हुने जनगणनामा भारतीय गोर्खाले आफ्नो थर, जात अनि भाषा लेख्नु हुँदैन। यसरी जात जातमा टुक्रिनु नै गोर्खामाथि संकट आउनु हो। टुक्रेको जाती कहिले एक हुनु सक्दैन।”
थापाले आह्वान् गर्दै भने, “अबको मेरो मुद्दा भारतीय गोर्खा एकीकरण हुनेछ। जात हाम्रो गोर्खा हो, भाषा हाम्रो नेपाली हुनेछ। हाम्रो राजनीति बेग्लाबेग्लै छ। तर जातिको मुद्दामा हामीलाई सिङ्गो गोर्खा हुनुपर्छ। जनगणना हुनु अघि हामी एक हुनु पर्नेछ।”
थापाले पार्टीका नेतृत्वहरूलाई निर्देश दिँदै भने, “अब विपक्षीका नेताहरुसँग डाइलग सुरु गर्नुहोस्। भारतभरि छरिएको गोर्खाहरूले दार्जीलिङको गोर्खालाई हेरिरहेको छ। देशमा जहाँ जहाँ गोर्खा छन् त्यहाँ हामी पुग्नुपर्छ। उहाँहरुलाई सम्झाउनु पर्छ। यदि यो मुद्दामा पनि गोर्खा एक हुनु सकेन भने हामी संकटग्रस्त नै रहनेछौं।”
उनले विपक्षका नेताहरुलाई एक मञ्चमा उँभिने अपील गर्दै भने, “जातिको मुद्दामा भागोप्रमोले आफ्नो झण्डा थन्काएर कसैकाे नेतृत्वमा पनि काम गर्न सक्नु सक्छ। हामीलाई एक सिङ्गो गोर्खा भएर उभिने समय आएको छ। म कसैको नेतृत्वमा‌ पनि काम गर्न तयार छु। जातिको एकीकरणको लागि म सानो हुन तयार छु।’
थापाले नारी सशक्तिकरणलाई पार्टीले सदैव प्रोत्साहन गरेको बताउँदै भने, “जुन कुर्सीमा म बसेको छु त्यो कुर्सीमा कुनै दिन एक आमालाई बसाउने मेरो सपना छ। आमाले मात्र घरको राम्रो स्याहार सुसार गर्छ।”
उनले थप भने, “हाम्रो सानो समूहमा जोश, जागर अनि हिम्मत थियो। त्यही जोशको साथमा आज हामी यहाँ उभिएका छौं। हाम्रो यात्रा कुर्सीको होइन, विचारको यात्रा हो। हामी संस्कारी हुनुपर्छ। राम्रो काम गर्यो भने जीत आफै आउँछ। मैले पहाडमा राम्रो बारी बनाएर दिएको छु। बारीको सुरक्षा गर्ने काम मेरो। फल्ने फुल्ने काम तपाईहरुको हो।”
मङपुकाे खेल मैदानमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो पाँचौ स्थापना दिवस समारोह भव्य रूपमा पालान गर्यो। जीटीए क्षेत्रका पैँतालीस वटा समष्टिबाट पार्टीका नेतृत्व, कार्यकर्ता अनि समर्थकहरूको उपस्थिती रहेको थियो।


दिउँसो ११ बजे पार्टी अध्यक्ष अनित थापाले पार्टीको झण्डा उत्तोलन गरेर समारोहको आरम्भ भएको थियो। रतन थापाले स्वागत् भाषणमा भने,” पहाडमा अहिले शान्ति छ। पहाड समृद्धिको मार्गमा हिँडेको छ। यसको श्रेय पहाडको सर्वमान्य नेता अनित थापाको कुशल नेतृत्व अनि सकरात्मक सोचलाई जान्छ।”
पार्टीका महासचिव अमर लामाले पार्टीको एकबर्षको उपलब्धिको बयान गर्दै भने, “आजको समावेश ऐतिहासिक समावेश हो। पार्टी अध्यक्षको जन्मथलो पनि हो। एम एम गुरूङ, विकास गोतामे जस्ता साहित्यकार बस्ने ठाउँ पनि हो मङपु। एउटा राजनैतिक दल पाँच वर्ष पुग्नु ठूलो कुरो हो। हामी हर्ष मनाउनु मात्र आएका होइनौ। हामीले काम पनि गरेका छौं। हाम्रो कामको कुरा गर्नु पनि यहाँ भेला भएका छौ। श्रमीकको न्यूनतम ज्याला माथि बिजीपीएमले काम गर्दैछ। सिनकोना बगानको समस्या अब चाँडै समाधान हुनेछ।”


पार्टीका केन्द्रीय उपाध्यक्ष रुदेन सादा लेप्चाले भने, “बिजीपीएम पार्टी अहिले ठूलो नदी बनेको छ। फस्टाएको छ। मौलाएको छ। यस नदी रूपी पार्टीलाई नाघ्नु सजिलो छैन।अनित थापाको नेतृत्वमा पहाड अहिले सुरक्षित छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement