गेजिङ: नम्बू सिन्द्राबुङ ग्राम पञ्चायत एकाइमा सूर्य घर मुक्त बिजुली योजनालाई लिएर सचेतनामूलक कार्यक्रम सम्पन्न भयो। जीपीयू कार्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गेजिङ जिल्लाका अतिरिक्त जिल्लापाल सूरत गुरुङको निगरानीमा भएको थियो। कार्यक्रममा नम्बू-सिन्द्राबुङ प्रान्तीय क्षेत्रका जिल्ला पञ्चायत जेबी लिम्बू, पञ्चायत अध्यक्ष आरबी सुब्बा, ऊर्जा विभागका अधिकारी जेपी सुब्बा, जिल्ला सूचना अधिकारी कृष्ण लिम्बू, पञ्चायत सदस्यगण, स्रोतलक्ताहरु, लगायत स्थानीय नागरिकको सहभागिता रहेको थियो। आफ्नो सम्बोधनमा अतिरिक्त जिल्लापाल गुरूङले प्रधानमन्त्री सूर्य घर मुक्त बिजुली योजना सम्बन्धमा विस्तृत जानकारी गराए। उनले बिजुलीलाई मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको उल्लेख गर्दै प्राकृतिक स्रोतको सदुपयोगका साथ सौर्य ऊर्जा प्रयोगको आवश्यकतामाथि जोड़ दिए। उनले सौर्य शक्तिको उपयोगमार्फत आत्मनिर्भर ऊर्जा उत्पादन गर्न लाभप्रद बताउँदै आफ्नो घरमा यस्तो प्रणाली स्थापना गरी त्यसबाट उपार्जित बिजुली प्रयोग गर्न सकिने जनाए। उनले सरकारद्वारा कार्यान्वित योजनाले नागरिकलाई ऊर्जा बचत र आर्थिक रूपमा सहज हुने प्रष्ट पारे। आफ्नो सम्बोधनमा विभागीय अभियन्ता जेपी सुब्बाले सौर्य प्यानलको प्राविधिक पक्षबारे जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चायत अध्यक्ष आरबी सुब्बाले यस योजनाअन्तर्गत याङ्थाङ समष्टिबाट आठवटा जीपीयूमध्ये दुईवटा छनौट भएको र त्यसमा नम्बू सिन्द्राबुङलाई पनि चिह्नित गरिएको जानकारी गराए। सौर्य बिजुली जडानको पञ्जीकरण र अन्य महत्त्वपूर्ण पक्षमाथि प्रकाश पारे। जिल्ला पञ्चायत जेबी लिम्बूले पनि कार्यक्रमलाई सम्बोधन गरे।
कार्यक्रममा खुल्ला विमर्श पनि गरियो। यस अवधि उपस्थित सदस्यहरूबाट आ-आफ्ना जिज्ञासाहरू प्रस्तुत गरिएको थियो।