पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याच खराब प्रकाशले गर्दा पूरा हुन सकेन। निरपानी हाई स्कूल खेल मैदानमा आज नेपालको २ वटा टीम दमक फूटबल क्लब र पुर्वेली युवा क्लबबीच खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा स्कोर १-१ को बराबरीमा रह्यो। त्यसपछि पेनल्टी शूटआउटमा पनि दुवै टीम ११-११ को बराबरीमा रहँदा खराब प्रकाशले खेल जारी राख्न सकिएन। त्यसपछि आयोजक समितिले म्याच अधिकारीहरूसँग सल्लाह परामर्श गरेर म्याचलाई ९ सेप्टेम्बरमा पुनः खेलाउने घोषणा गऱ्यो। नियमित समयको खेलमा पुर्वेली युवा क्लबको तर्फबाट मौसम सुब्बाले १७औं मिनटमा गोल गरे। यसरी दमक एफसी-को तर्फबाट छिरिंग गुरुङले अन्तिम समयमा गोल गरे। सोमवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङ र यूडीएफसी दुधियाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ। यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।