उत्तर सिक्किममा पर्यटन पुनः शुरु

IMG-20250907-WA0122

गान्तोक: प्राकृतिक प्रकोपको कारण लामो समयदेखि बन्द रहेको उत्तर सिक्किम (मंगन जिल्ला) भोलिदेखि खुल्ने भएको छ। सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस रावले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै उत्तरी सिक्किम (मङ्गन जिल्ला) भोलिदेखि पर्यटकका लागि खुला हुने घोषणा गरेका हुन्।
रावका अनुसार मई महिनाको अन्त्यदेखि प्राकृतिक प्रकोपका कारण बन्द रहेको उत्तर सिक्किममा बीआरओको सहकार्यमा सङ्क्लाङ पुल उद्घाटन भएसँगै जड्गु क्षेत्रसँग पुनः सम्पर्क बहाल भएको छ। उक्त मार्ग प्रयोग गर्दा चुङथाङतर्फ जाने पर्यटकको यात्रा करिब डेढ घण्टा छोटिने उनको भनाइ रहेको छ।
सचिवका अनुसार भोलिदेखि अनलाइनमार्फत अनुमति पत्र जारी हुने र पर्यटकहरूले लाचुङ, युमथाङ उपत्याका र जीरो पोइन्ट भ्रमण गर्न सक्ने व्यवस्था गरिएको छ। भने, लाचेन अर्को पर्यटन मौसममा मात्र खुल्नेछ। यात्राका लागि पर्यटकले बिहान १ बजेसम्म सङ्कलाङ पुल चेकपोस्ट पार गर्नुपर्ने र फर्कँदा दिउँसो २ बजेसम्म टुङ पुल पार गर्नुपर्ने अनिवार्य नियम लागू गरिएको छ। अनुमति पत्र अनलाइन, मङ्गन वा अस्थायी रूपमा चुंगथाङ एसडीएम कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
पत्रकार सम्मेलनमा रावले गत १५ जनवरी २०२५ मा रक्षा मन्त्री राजनाथ सिंहले घोषणा गरेको युद्धभूमि पर्यटन कार्यक्रमबारे पनि जानकारी गराए। यसअन्तर्गत सिक्किमका तीन गन्तव्य नाथुला, चोला र डोकलाम रहेको छ। आगामी २७ सेप्टेम्बरदेखि चोला र डोकलाम घरेलु पर्यटकका लागि खुला गरिने र सुरुवाती चरणमा दैनिक २५ सवारी साधनलाई मात्र अनुमति दिइने निर्णय गरिएको पनि उनले थप जानकारी गराए।
रावले राज्यको पर्यटन उद्योगका सरोकारवालालाई सहयोगका लागि आभार व्यक्त गर्दै पर्यटन पुनर्जीवनप्रति आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement