न्यूयोर्क: रुस र युक्रेनबीच जारी युद्धको सात महिना पूरा हुन लागेको छ। यो लामो युद्धले रुस र पश्चिमबीचको तनाव बढाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार अमेरिका र पश्चिमी देशहरूलाई आणविक आक्रमणको धम्की दिइरहेका छन्। बुधबार पुटिनको धम्कीको जवाफ दिँदै, अमेरिकी राष्ट्रपति जो बाइडेनले भने कि रूसले युक्रेनसँग ‘क्रूर र अनावश्यक’ युद्धमा संलग्न भएर ‘लज्जास्पद रूपमा संयुक्त राष्ट्र बडापत्रको आधारभूत सिद्धान्तहरू’ उल्लङ्घन गरेको छ। यसअघि पुटिनले पश्चिमा राष्ट्रलाई धम्कीपूर्ण स्वरमा रुसले आफ्नो क्षेत्रको रक्षाका लागि सम्भव भएसम्मको प्रयास गर्ने र यो ‘निरपेक्ष बयानबाजी’ नभएको बताए।
संयुक्त राष्ट्र संघमा आफ्नो सम्बोधनका क्रममा बाइडेनले रुसी आक्रमणको कडा निन्दा गर्दै युक्रेनमा नागरिकहरू विरुद्ध रसियाले गरेको अत्याचारको ‘हृदयविदारक’ रिपोर्टहरू रहेको बताए। उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको साथ युरोपमा आक्रमण गर्ने नयाँ धम्कीले रूसले आणविक अप्रसार सन्धि (एनपीटी) को हस्ताक्षरकर्ता भए पनि गैरजिम्मेवार ढंगले आफ्ना प्रावधानहरूलाई उल्लङ्घन गरिरहेको देखाउँछl’ बाइडेनले भने, ‘रुसको आक्रमणविरुद्ध हामी एकजुट भएर उभिनेछौंl’ पुटिनले तीन लाख रिजर्भ सेनाको आंशिक तैनाथीको घोषणा गरेका बेला अमेरिकी राष्ट्रपतिको भनाइ आएको हो। यसलाई आवश्यक भएको वर्णन गर्दै उनले रुसले ‘पूरै पश्चिमी सैन्य मेसिनरी’सँग लडिरहेको बताए। पुटिनले विस्तारित सीमा रेखा, रुसी सिमानामा युक्रेनी सेनाद्वारा जारी गोलाबारी र मुक्त गरिएका क्षेत्रहरूमा आक्रमणले रिजर्भबाट सेना फिर्ता गर्नुपर्ने आवश्यकता रहेको बताए। दोस्रो विश्वयुद्धपछि रुसले यति ठूलो संख्यामा सेना तैनाथ गर्न लागेको यो पहिलो पटक हो। उनको यो निर्णयले सारा विश्वलाई नै हल्लायो। रिजर्भिस्ट एक व्यक्ति हो जो ‘मिलिटरी रिजर्व फोर्स’ को सदस्य हो। यो एक नागरिक हो जसलाई सैन्य प्रशिक्षण दिइन्छ र आवश्यक भएमा जहाँ पनि पोस्ट गर्न सकिन्छ। यसले शान्तिको समयमा सेवाहरू प्रदान गर्दैन।