सोनादा: सान्डुप तारगेलिङ बुद्धिष्ट गुम्बा हल, सोनादामा अल ईण्डिया शेर्पा बुद्धिष्ट एसोसिएसनद्वारा आयोजित नव–निर्वाचित पदाधिकारीहरूको दीक्षा तथा समन्वय कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका मुख्य अतिथि पद्मसम्भव बुद्धिष्ट लामा एसोसिएसनका अध्यक्ष पासाङ दावा शेर्पा उपस्थित रहेका थिए। यस अवसरमा ग्लोबल शेर्पा संघका अध्यक्ष थेण्डुप शेर्पा, अल बेगल शेर्पा एसोसिएसनका अध्यक्ष नवाङ शेर्पा साथै अल इण्डिया शेर्पा बुद्धिष्ट एसोसिएसनका अध्यक्ष दोर्जी शेर्पा (पिनासा, सिक्किम) लगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको सञ्चालन पासाङ लकी शेर्पाले गरेका थिए।
राष्ट्रिय गानबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो।लामाहरूबाट धुपदिप प्रज्वलन तथा टासी घेपा प्रार्थना गरिएको थियो। सान्डुप तारगेलिङ बुद्धिष्ट गुम्बा ट्रस्टका सचिव स्वर्गीय भुषण शेर्पाका निम्ति एक मिनटको मौनधारण गरियो।
प्रोग्रेसिभ कल्चरल ग्रुप सोनादाले सोर्के नृत्य साथै स्वागत गीत प्रस्तुत गरेको थियो। दोस्रो चरणमा मिङमा शेर्पाद्वारा सञ्चालन गरिएका कार्यक्रममा स्वागत मन्तव्य टीटी शेर्पाले राखेका थिए। यस क्रममा नयाँ पदाधिकारीहरुलाई सम्मान गरिएको थियो। तेस्रो चरणमा वर्तमान अल इण्डिया शेर्पा बुद्धिष्ट एसोसिएसनका सचिव एनटी शेर्पाले सञ्चालन गरेको कार्यक्रममा वर्तमान सल्लाहकारदेखि विशेष कार्यकारिणी सदस्यहरुलाई सम्मान गरिएको थियो।

सभामा भूतपूर्व सभापतिहरु दावा शेर्पा (खरसाङ), थेण्डुप शेर्पा (दार्जिलिङ), नवाङ शेर्पा (कालेबुङ), टी.टी. शेर्पा, दोर्जे शेर्पा (पिनासा), मिङमा शेर्पा डा मन्ना शेर्पा आदिले मन्तव्य राखेका थिए। मुख्य अतिथि खेन्पो पासाङ दावा शेर्पाले प्रेरणादायी सम्बोधन गर्दै नव–निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन पासाङ शेर्पा जयगावले दिएका थिए भनी जानकारी प्राप्त भएको छ।