सन्न्यासको सम्भावनालाई खारेज गरे रोनाल्डोले, २०२४-को यूरो खेल्ने लक्ष्य

IMG-20220922-WA0119.jpg

२२ सेप्टेम्बरः विश्वका महानतम् फूटबलरहरूमा एक पोर्तुगलका क्रिस्टियानो रोनाल्डोले अहिले खेलबाट सन्न्यास लिने उनको कुनै योजना नरहेको स्पष्ट बताएका छन्। ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर युनाइटेडबाट खेल्ने ३७ वर्षीय रोनाल्डो यस साल कतरमा हुने फीफा विश्व कपपछि २०२४-को यूरो कप पनि खेल्न चाहन्छन्। पोर्तुगलका कप्तानले अन्तर्राष्ट्रिय फूटबलमा १८९ वटा म्याच खेलेर ११७ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फूटबलमा उनी सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्। कतरमा हुने विश्व कपमा ओर्लिनको साथै रोनाल्डोले दशौंपल्ट कुनै ठूलो अन्तर्राष्ट्रिय टुर्नामेण्ट (विश्व कप, यूरो कप र नेशन्स लीग)- मा देशको प्रतिनिधित्व गर्नेछन्। रोनाल्डोलाई लिस्बनमा पोर्तुगल फूटबल फेडरेशनको तर्फबाट क्विन्स जी आरो अवार्ड्सद्वारा सम्मानित गरियो। उनलाई यो सम्मान सर्वाधिक गोल गरेकोमा प्रदान गरियो। रोनाल्डोले भने, मेरो यात्रा अहिले नै समाप्त भएको छैन। तपाईंहरू अझ केही समयको निम्ति क्रिससँग बस्नु पर्नेछ। म विश्व कप र यूरो कपको हिस्सा बन्न चाहन्छु। म धेरै प्रेरित अनुभव गरिरहेको छु। रोनाल्डोले गत वर्ष सेप्टेम्बरमा आयरल्याण्ड विरुद्ध गोल गरी अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोलदाता बन्ने गौरव हासिल गरेका थए। उनले ईरानका अली डेईको १०९ वटा अन्तर्राष्ट्रिय गोलको रेकर्ड तोड़ेका थिए।
रोनाल्डो हालै आफ्नो बीस सालको करियरमा दोस्रोपल्ट यूएफा यूरोपा लीग खेल्न ओर्लिएका थिए। उनी यसअघि २००२-मा पोर्तुगलको क्लब स्पोर्टिंगबाट यूरोपा लीगमा खेलेका थिए। त्यसपछि उनी यस साल पहिलोपल्ट यूरोपा लीग खेल्न ओर्लिए। वास्तवमा रोनाल्डोको क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लीगको निम्ति क्वालीफाई गर्न नसकेको हुनाले यूरोपा लीगमा हिस्सा लिइरहेको छ। रोनाल्डो च्याम्पियन्स लीगको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ी पनि हुन्। उनले च्याम्पियन्स लीगमा १४१ वटा गोल गरेका छन्। च्याम्पियन्स लीग खेल्न नपाउने हुनाले नै रोनाल्डोले म्यानचेष्टर युनाइटेड छोड़्ने योजना पनि बनाएका थिए। यूरोपेली क्लब फूटबलको सबैभन्दा ठूलो लीगमा सफलताले गर्दा रोनाल्डोलाई मिस्टर च्याम्पियन्स लीग पनि भनिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement