गान्तोक: सिक्किम सरकारका विभिन्न विभागीय प्रतिनिधि टोलीले उच्च हिमाली ताल अन्वेषण अभियान शुरु गरेको थयो। टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। टिम ‘ए’ ले डोल्मा सम्पा र सोरा फनेल क्षेत्रमा अध्ययन पूरा गरी २६ अगस्तको दिन सफलतापूर्वक फर्किएको थियो भने, टिम ‘बी’ दक्षिण ल्होनाक तालको निरीक्षण गरेर २९ अगअगस्तको दिन गान्तोक फर्किएको थियो। यस्तै उप टिम बी२ र आइपिआर विभागीय टोली १ सेप्टेम्बरमा थाङ्गु फर्किन सफल भएको छ। उक्त अभियानले पहिलो पटक उत्तर सिक्किमको १६,३७८ फिट उचाइमा रहेको युल्हे काङ्से ताल सम्मको यात्रा सम्पन्न गर्दै उच्च हिमाली ताल तथा हिमनदी अध्ययनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अन्वेषणले तालको गहिराइ, तलछटको संरचना र क्षेत्रीय जलविज्ञान तथा जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्धबारे महत्वपूर्ण प्रारम्भिक तथ्यहरू संकलन गरेको छ। जसले पूर्व हिमालयका संवेदनशील पर्वतीय पारिस्थितिकी तन्त्रबारे गहिरो जानकारी हासिल गरेको छ। अभियानको १५ औँ दिन ३ सेप्टेम्बरमा टोली थाङ्गुबाट प्रस्थान गरी युल्हे काङ्से बेस क्याम्प पुगेको थियो। १६औँ दिन ४ सेप्टेम्बरमा उनीहरूले तालसम्म पदयात्रा गरी परम्परागत पूजापाठ गरेका थिए। ५ सेप्टेम्बरमा टोली बेस क्याम्पबाट प्रस्थान गरी लाचुङमा आएकी थिए। ६ सेप्टेम्बरमा सफलतापूर्वक गान्तोक फर्केर अभियानको पहिलो चरण समाप्त गरेको जानकारी गराएको छ। टोलीले संकलन गरेको तथ्यहरूले उच्च हिमाली ताल प्रणालीको भू-आकृति, जलविज्ञान र जलवायु अन्तर्क्रियाबारे नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ।