गलगलिया: नेपालमा लागूऔषध आपूर्ति गर्दै आएका एक भारतीय कारोबारी भारतको गलगलियामा पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट २१८ ग्राम ब्राउनसुगर र ठूलो परिमाणमा नगद बरामद गरेको छ।
भद्रपुर-गलगलिया नाकाको सीमावर्ती भारतीय बजार नजिकैको एक घरमा गलगलिया प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले विशेष सूचनाका आधारमा छापा मारेर ती कारोबारीलाई पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा गलगलिया प्रहरी र एसएसबीको ४१ औं बटालियनको भातगाउँ बीओपीको संयुक्त टोलीले हिजो दिउँसो करिब १:३० बजे गलगलियाको भातगाउँ पञ्चायतको वार्ड नम्बर ५ स्थित एक घरमा छापा मारेको थियो। यस घरमा मादक पदार्थको खरिदबिक्रीको धन्दा चलिरहेको जानकारी प्राप्त भएको थियो।
खानतलासीका क्रममा गलगलिया थाना क्षेत्रको दरभंगिया टोलस्थित उक्त घरभित्र पलङमुनि लुकाइएको २१८ ग्राम ब्राउनसुगर फेला परेको थियो। लागूऔषधसँगै १ लाख ९० हजार १ सय भारतीय रुपैयाँ र नेपाली १० रुपैयाँ पनि बरामद भएको छ।
पक्राउ पर्ने कारोबारी ३२ वर्षीय शिव सहनी रहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। गलगलिया प्रहरीले सहनीलाई न्यायिक हिरासतमा पठाउने तयारी गरिरहेको छ।