ईंग्ल्याण्डमा २३ सालपछि वनडे सीरीज जित्यो भारतले

IMG-20220922-WA0100.jpg

२२ सेप्टेम्बरः भारतीय महिला क्रिकेट टीमले दोस्रो वनडे म्याचमा ईंग्ल्याण्डलाई ८८ रनले पराजित गरी तीनवटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। यसको साथमा भारतीय टीमले २३ सालपछि ईंग्ल्याण्डमा वनडे सीरीज जित्यो। यसअघि भारतले ईंग्ल्याण्डमा अन्तिमपल्ट १९९९-मा २-१-ले वनडे सीरीज जितेको थियो। बुधवार राति खेलिएको यस म्याचमा भारतीय टीमको जीतमा कप्तान हरमनप्रीत कौरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै विध्वंशी मिजासमा रेकर्ड शतक बनाइन्। यसको साथमा पेस बलर रेणुका सिंहले पनि घातक बलिंग गर्दै ४ विकेट हासिल गरिन्। केण्टरबरीको सेण्ट लरेन्स ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३३३ रनको विशाल स्कोर बनायो। जवाफमा ईंग्ल्याण्डको टीम ४४.२ ओभरमा २४५ रन बनाएर अलआउट भयो।

टस हारेर पहिला ब्याटिंग गर्ने भारतीय टीमको ईनिंग्समा मुख्य आकर्षण हरमनप्रीतकी ब्याटिंग रह्यो। भारतीय कप्तानले वनडे क्रिकेटमा आफ्नो पाँचौं शतक बनाइन्। उनले १११ बलमा १८ वटा चौका र चारवटा छक्काको साथ अविजित १४३ रन बनाइन्। हरमनप्रीत बाहेक हरलीन देओल (५८ रन) र स्मृति मन्धना (४० रन)-ले पनि उल्लेखनीय योगदान दिइन्। हरलीनले ७२ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाइन्। यसरी नै मन्धनाले ५१ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाइन्। हरमनप्रीतले धैर्यको साथ खेल्दै १०० बलमा शतक बनाइन्। शतक पूरा गरेपछि चाहिँ उनले अघिल्लो ११ बलमा ४३ रन बनाएर आयोजक टीमकी बलरहरूलाई पिट्नसम्म पिटिन्। हरमनप्रीत र हरलीनले चौथो विकेटको निम्ति ११३ रनको साझेदारी गरिन्। अन्य खेलाड़ीहरूमा यास्तिका भाटियाले २६, पूजा वस्त्राकरले १८ र दीप्ति शर्माले अविजित १५ रन बनाइन्।

जवाफमा आयोजक ईंग्ल्याण्डको शुरुवात नै चरम निराशाजनक रह्यो अनि ४७ रनभित्रै ३ विकेटको पतन भइसकेको थियो। टेमी ब्योमोण्ट केवल ६ रन बनाएर हरमनप्रीतकी सीधा थ्रो-मा रन आउट भइन्। यसबाहेक एम्मा लेम्ब (१५) र सोफिया डंक्ले (१)-लाई रेणुकाले आउट गरिन्। त्यसपछि एलिस केप्सी (३९), डेनिएला वेट (६९) र कप्तान एमी जोन्स (३९)-ले मैदानमा अडिग रहेर लड़ाइँ गर्ने प्रयास गरिन् तर भारतीय बलरहरूले पनि लगातार विकेट हासिल गरी ईंग्ल्याण्डको हार सुनिश्चित गरिन्। अन्ततिर चार्ली डीनले ३७ रन बनाइन्। भारतीय बलरहरूमा रेणुकाले १० ओभरमा ५७ रन खर्च गरी ४ विकेट हासिल गरिन्। यसबाहेक डायालान हेमलताले २ विकेट हासिल गरिन्। आफ्नो अन्तिम वनडे सीरीज खेलिरहेकी झूलन गोस्वामीले ७ ओभर बलिंग गरिन्। हरमनप्रीतलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement