गेजिङ: गेजिङ-बर्मेक समष्टिको अप्पर बर्मेकमा सिक्किम सरकारको समाज कल्याण विभागले निर्माण गरेको सद्भाव मण्डपको उदघाटन आज गरियो। क्षेत्र विधायक लोकनाथ शर्मा मुख्य अतिथि रहेर मण्डपको उद्घाटन गरे। कार्यक्रममा सिक्किम दुग्ध सङ्घका अध्यक्ष यामकुमार मिश्र र अनम्य विशिष्ट व्यक्तिहरुको सहभागिता थियो। कार्यक्रममा दिवङ्गत श्रीमान फुर्बा दोर्जी शेर्पाको नाममा निःशुल्क भूमिदान गर्ने उनकी श्रीमती लाक्पा फुटी शेर्पालाई अङ्गवस्त्र र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि शर्माले शेर्पा भवनको माग धेरै वर्षदेखि रहेको र आज उद्घाटन गरिएको सद्भाव मण्डपलाई शेर्पा भवनको रूपमा रहने घोषणा गरे। उनले स्थानीयलाई भवन संरक्षण, समुचित प्रयोग र हेरचाह गर्ने अनुरोध गर्दै समष्टिका अन्य विकास परियोजनाहरूबारेमा पनि जानकारी दिए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




