गान्तोक: आजदेखि साउथ वेस्ट मेन लाइन ट्याक्सी स्ट्याण्ड देउरालीबाट गान्तोकको वेस्ट पोइन्ट मलमा सरेको छ। अबउसो राज्यका दक्षिण अनि पश्चिम जिल्लाका विभिन्न स्थानतिर जाने मेनलाइन ट्याक्सीहरू वेस्ट पोइन्ट मलको तीन नम्बर पार्किङमा उपलब्ध रहनेछ।
उल्लेखनीय छ, यस अघि केही समयको निम्ति साउथ वेस्ट मेनलाइन ट्याक्सी स्ट्याण्ड देउरालीमा सारिएको थियो। त्यस अघि यो ट्याक्सी स्ट्याण्ड यसै स्थान (हालको वेस्ट पोइन्ट) मा थियो। वेस्ट पोइन्ट मलको निर्माणकार्य आरम्भ भए पछि स्ट्याण्ड देउराली सारिएको थियो।
वेस्ट पोइन्ट मल निर्माण गरिन अघि नै मुख्यमन्त्री प्रेमसिंह तामाङले साउथ वेस्ट मेन लाइन ट्याक्सी स्ट्याण्ड पुनः पहिलेको स्थानामा सारिने वचन दिएका थिए। तर, यसमा केही विलम्ब हुन गएको थियो। केही दिन अघि फेरि एकपल्ट उनले आफ्नो प्रतिवद्धता दोहोऱ्याएका थिए।
वेस्ट पोइन्ट ट्याक्सी स्ट्याण्ड पुनः पहिलेको स्थानमा सारिएकोमा चालकहरूले हर्ष व्यक्त गरेका छन्।