गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको गान्तोक र पाकिम जिल्लास्तरीय समन्वय सभा राजधानीको इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा बस्यो। सभाको अध्यक्षता पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानले गरेका थिए।
सभामा हालका पार्टीका विभिन्न गतिविधिहरूको समीक्षा गर्दै तोकिएका जिम्मेवारी, कार्यकर्ताहरूको गतिविधि तथा तल्लो तहमा देखिएको सक्रियतामाथि चर्चा गरियो। वरिष्ठ नेतृहरू श्रीमती शमता शेर्पा, श्रीमती शशि बर्देवा र सुश्री दिव्या कला खतिवडाले छलफलमा सक्रिय भूमिका निर्वाह गरे भने युवा सङ्गठनका नेता रिकजिङ भुटियासहित अन्य सदस्यहरूले आ-आफ्नो सुझावहरू राखे।
यसरी नै सभामा जनस्तरका प्रमुख समस्याहरू उठाइएका थिए, जसमा स्मार्ट पावर बिल, गाउँमा पैदल बाटो निर्माणको अभाव, ढल निकास समस्या तथा खानेपानी आपूर्तिको कमी प्रमुख थिए। साथै, समष्टीस्तरमा पार्टी एकता र सामाजिक गतिविधि सुदृढ गर्नुपर्नेमा पनि सभामा थप चर्चा गरियो।
यसैबीच, एसडीएफ पार्टीले मुख्यमन्त्रीका सह–राजनीतिक सचिव मदन सुधन शर्माले हिजो पश्चिम सिक्किमको देन्ताममा सम्पन्न एसकेएम पार्टी सभामा दिएको अभिव्यक्ति गैरकानुनी र अलोकतान्त्रिक भएको भन्दै कडा आपत्ति जनाएको छ। विपक्षी दललाई गाउँमा प्रवेश गर्न नदिने प्रजातान्त्रिक मूल्यविरुद्धको कदम हो भन्दै एसडीएफले सरकारलाई तुरुन्तै उनको विरुद्ध आन्तरिक मामिला विभागमार्फत कानूनी कारबाही गर्न माग गरेको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




