गान्तोक: आम आदमी पार्टी (आप) ले सिक्किममा आफ्नो सङ्गठन विस्तार गर्न पहल शुरू गरेको छ। आपले सिक्किममा ‘मेक इन इन्डिया नम्बर वान’ अभियान र ‘सदस्यता अभियान’ को माध्यमद्वारा आफ्नो गतिविधि शुरू गरेको छ।
आप सिक्किमका प्रतिनिधिद्वय फिलिप लामिछाने र केशरलाल छेत्रीले पार्टीका शीर्ष नेतृत्वहरूसॅंग दिल्लीमा भेट भइसकेको र सिक्किममा पार्टी विस्तारलाई लिएर चर्चा भएको आज एक पत्रकार सम्मेलनमा बताए। आप नेतृत्वहरूले सिक्किमको केन्द्रमा लम्बित कतिपय मुद्दाहरूलाई सम्बोधन गर्न काम गर्ने आश्वासन दिएको पनि उनीहरूले जानकारी गराए।
छेत्रीले राज्यवासीहरूलाई आपको ‘मेक इन्डिया नम्बर वान’ अभियान र सदस्यता अभियानमा सहभागी बन्न आह्वान गरे। उनले ९५१०००१००० मा मिस् कल गरेर मेक इन्डिया नम्बर वान अभियानमा सहभागी बन्न तथा ९८७१०१०१०१ मा मिस् कल गरेर आपको सदस्यता ग्रहण गर्न अपील गरे।
यसै गरी, आप सिक्किमका प्रतिनिधि फिलिप लामिछानेले सिक्किममा आप समर्थकहरूको संख्या धेरै रहेको दाबी गरे। उनले भने, सिक्किममा अहिले विपक्षी कोही छैन। जसले विरोध गर्नु पर्ने उनीहरू नै मिलेर बसेका छन्। यस कारण जनताको आवाज दबिएको छ। हामी जनताको आवाज बन्न चाहन्छौ।
उल्लेखनीय छ, आम आदमी पार्टीले पहिला पनि सिक्किममा आफ्नो सङ्गठन विस्तार गर्ने असफल प्रयास गरिसकेको छ।