गान्तोक: गत ३ अक्टोबर २०२३ को राति आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पुर्नस्थापनाबारे अन्तिम चरणको संयुक्त सर्वेक्षण समाप्त भयो। सर्वेक्षण टोलीले प्रस्तावित पुनर्वास स्थलको सम्पूर्ण सीमा पहिचान गर्दै अन्तिम मोहर लगाएको छ। जसले गर्दा सबै सरोकारवालाहरूबीच स्पष्टता र सहमति सुनिश्चित भएको छ। सर्वेक्षणको क्रममा सिक्किम कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा, अतिरिक्त जिल्लापाल (विकास) डा. सोनाम आर लेप्चा, महकुमा अधिकारी सन्दीप कुमार लगायत अन्य अधिकारीहरू पनि सामेल थिए। सर्वेक्षणको क्रममा विवादमा रहेको भूमिको मुद्दा समाधान गरिएको छ। सर्वेक्षण टोलीले प्रस्तावित जमीनको स्थिरताबारेमा पनि विस्तृतरूपमा छलफल गऱ्यो। अध्यक्षले पञ्चायत प्रतिनिधिहरू र लाइन विभागका अधिकारीहरूसँग मिलेर नयाँ बस्तीको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न भौगोलिक र पर्यावरणीय अवस्थाको समीक्षा गरे। यस बाहेक उक्त ठाउँमा सडक सम्पर्क विस्तार गर्ने विषयमा पनि छलफल गरेको छ। उक्त स्थानमा सडक लगायत अन्य आवश्यक सुविधाहरू पनि पुऱ्याउनु पर्ने विषयमा समीक्षा गरियो। स्मरण रहोस्, वर्तमान सरकारले नागा टुङका बाढ प्रभावित परिवारलाई पुनर्वास गराउने पहललाई प्राथमिकता दिँदै आएको छ। राज्य सरकारको ग्रामीण विकास विभागद्वारा भूमि सर्वेक्षण पूरा भएपछि विकास योजनाहरूबारे सम्वन्धित निकायलाई प्रतिवदेन प्रस्तुत गरिनेछ। उल्लेखनीय छ, वर्ष २०२३ मा उत्तर जिल्लाको लोहनार्क झील परिसरमा बादल फाटेपछि टिस्टा नदीमा जलस्तर बढेको थियो। जसको कारण मंगन जिल्लामा सबैभन्दा अधिक क्षति पुगेको थियो। बाढको कारण धेरै परिवार विस्थापित बन्न पुगेपछि उनीहरू हाल किरायाको घरमा बस्दै आइरहेका छन्। प्रभावित परिवारको समस्यालाई ध्यानमा राख्दै पुर्नवास गराउन सरकारले सक्रियरूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ। अहिले प्रभावित परिवारको निम्ति जमीन हेर्ने काम समाप्त भएको छ।