सोरङ: इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किमले आज सोरङमा संस्थानका उपाध्यक्ष सीपी शर्माको अध्यक्षतामा जिल्लास्तरीय समन्वय बैठक सम्पन्न गऱ्यो। बैठकमा संस्थानका सदस्यहरू गंगादेवी प्रधान, नम्रता थापा, डा. साङ्गे दोर्जी भोटिया, डा. भरतचन्द्र वसिष्ट, जेम्स छिरिङ लेप्चा र डा. निरज अधिकारीको उपस्थिति रहेको थियो। उपाध्यक्ष शर्माले संस्थानको गठनको अवधारणाबारे जानकारी दिँदै आवश्यकतामा आधारित विकास र सामुदायिक सहभागिताप्रति संस्थाको प्रतिबद्धताबारे बते। उनले विभिन्न पूर्वाधार परियोजनामाद्वारा गरिएको फिल्ड भिजिटलाई स्मरण गर्दै ढिलाइमा चिन्ता व्यक्त गरे र विभागीय प्रमुखहरूलाई ईमान्दारी र गम्भीरतापूर्वक काम गर्ने आग्रह गरे। सदस्य नम्रता थापाले संस्थानको परिचय प्रस्तुत गर्दै यस संस्थालाई मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा गठन गरिएको बताइन्। उनले राज्यको समग्र विकासलाई उद्देश्य बनाएर नयाँ नीति निर्माणमा सक्रिय सहभागिताको आह्वान गरिन्। त्यसैगरी सदस्य गंगादेवी प्रधानले फोहोर व्यवस्थापन, बायो–मेडिकल फोहोर, खानेपानी तथा सरसफाइ प्रणाली, मानव संसाधन विकास र तरल फोहोर व्यवस्थापन जस्ता विषयमा ध्यानाकर्षण गर्दै दिगो कार्ययोजना बनाउन सुझाव र रणनीतिक तयारीबारे बताइन्। यसअघि, सोरङका जिल्लापाल धीरज बस्नेतले सबै सदस्यहरूलाई स्वागत गर्दै यस संस्थालाई सरकार र विकास गतिविधिबीचको महत्वपूर्ण सेतुको रूपमा औंल्याए। उनले सोरेङलाई नीति आयोगको आकांक्षी जिल्लाको रूपमा मान्यता दिइएको जानकारी दिँदै २१ प्रमुख सूचकाङ्कमा शतप्रतिशत उपलब्धि हासिल भएको बताए। बैठकमा योजना तथा विकास विभागका रोशन शर्माले संरचना र १६ वटा क्षेत्रगत खण्डबारे संक्षिप्त जानकारी प्रस्तुत गरे। खुल्ला छलफलमा विभिन्न विभागका अधिकारीहरूले आफ्ना-आफ्ना क्षेत्रमा भएका गतिविधि र चुनौतीहरूबारे जानकारी गराउँदै पूर्वाधार र दिगो विकासका उपायहरूबारे छलफल गरे।









