पाकिम: महिला, बाल, ज्येष्ठ नागरिक र दिव्यांगजन कल्याण विभागअन्तर्गत पाकिम जिल्लाको जिल्ला महिला सशक्तिकरण केन्द्रको पहलमा आज नाम्चेबुङ ग्राम पञ्चायत यूनिटमा दस दिवसीय सचेतना कार्यक्रम आयोजन गरियो। संकल्प योजनाअन्तर्गत महिलाहरूलाई सशक्तिकरण गराउने उद्देश्यले आजदेखि दस दिवसीय सचेतना कार्यक्रम शुरू भएको छ। यस कार्यक्रमको उद्देश्य ग्रामीणस्तरमा महिलाहरूलाई कल्याणकारी योजनाबारे सचेतना गराउनु रहेको थियो। यसअन्तर्गत मिशन शक्ति योजना, प्रधानमन्त्री बन्धना योजना लगायत अन्य योजनाहरूबारे छलफल गरियो। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै लैङगिक विशेषज्ञ अल्सोन राईले जिल्लास्तरमा महिलासम्बन्धित योजनाहरू र आउटरिच गतिविधिहरू समन्वय गर्न डीएचइडब्ल्यूको भूमिकामाथि प्रकास पारे। उनले अभियान समुदायका सदस्यहरूसँग संवाद प्रवर्द्धन गर्न तयार गरिएको कार्यक्रम बताए। सोही प्रकारले प्यारामेडिकल सदस्य केसाङ तामाङले हेल्पलाइन (१८१), बाल हेल्पलाइन (१०९८), मिशन शक्ति योजनाहरूसहित वान स्टप सेन्टरजस्ता विषयमाथि बताए।









