मानिसहरूलाई हाम्रा सबै सम्पदा स्थलहरू बचाउन अघि आउन आग्रह गर्दछौँ: आकाश प्रधान
दार्जिलिङ: एशियाकै पहिलो जलविद्युत परियोजना, सिद्राबोङ पावर स्टेशन, हाम्रो इतिहास र हाम्रा पुर्खाहरूको विरासतको एक हिस्सा हो। यो एउटा महत्त्वपूर्ण सम्पत्ति हो जसलाई हामीले जोगाउनै पर्छ भन्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको एक प्रतिनिधि टोलीले आज भ्रमण निरीक्षण गरेका छन्। आकाश प्रधानको नेतृत्वमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको टोली पुष्कर, सञ्जोग, दिपांकर र अन्य युवाहरू पनि उपस्थित रहेको जानकारी प्राप्त भएको छ। उक्त टोलीले सिद्राबोङ पावर स्टेशनको भ्रमण गरेका थिए। उनीहरूले स्थानीय मानिसहरूसँग कुरा गरे र त्यस सम्पदाको दयनीय अवस्था देखेर निकै चिन्तित भए। जिम्मेवार निकायले कुनै पनि सुधार नगरेको उनीहरूले बताए।

यस विषयमा आकाश प्रधानले भने, “गलत र भ्रष्ट नेताहरूको कारणले गर्दा हाम्रो इतिहास मेटिँदैछ।” यसैले हाम्रो आई.जी.जे.एफ. टोलीले सकारात्मक परिवर्तन ल्याउने वाचा गरेको छ। उनीहरूले सम्बन्धित सरकारी निकायहरूसँग सम्पर्क गर्नेछन् ताकि केही ठोस कदम चालियोस्। हामी दार्जीलिङका सबै मानिसहरूलाई हाम्रा सबै सम्पदा स्थलहरू बचाउन अघि आउन आग्रह गर्दछौँ। हामीलाई चिन्ता लागेको छ कि केही स्वार्थी नेताहरूले आफ्नो व्यक्तिगत फाइदाका लागि दार्जीलिङको इतिहास बेच्ने प्रयास गरिरहेका छन्। चियाबारीका जग्गाहरू पनि बेच्ने अवस्थामा छन्। त्यसैगरी, दार्जीलिङ नगरपालिकाको सार्वजनिक सम्पत्तिहरू पनि अप्रत्यक्ष रूपमा लिज (lease) को नाममा बेचिँदै छन्।









