म पहाडको समृद्धि, विकास अनि शान्तिको निम्ति खुल्लम खुल्ला भन्छु, म बंगाल सरकारसँग मिलेर नै काम गर्छु: अनित थापा

IMG-20250902-WA0120

सोनादा: रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट अनि अन्य दलहरुबाट भागोप्रमोमा सामेल भएका १८० घरहरूलाई पार्टीमा स्वागत गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय पार्टी अध्यक्ष अनित थापाले भने, “पार्टीमा सामेल भएपछि पार्टीको काम गर्नुपर्छ। सुतेर चाँहि हुँदैन। पार्टीमा आउनु सजिलो छ तर काम गर्नु गार्हो छ।”
थापाले २०१७ अघिको राजनीति अनि आजको राजनीतिमा फरक आएको छ भन्दै भने, “पहाडलाई शान्तिको मार्गमा लैजाने मेरो राजनैतिक यात्रा सजिलो यात्रा थिएन। हिजोको दिनमा कराउनु, उफ्रिनु, डढाँउनुलाई राजनीति भन्थ्यो। आज त्यसरी राजनीति गर्नु मिल्दैन। आज दोषारोपणको राजनीति काम लाग्दैन। कामको राजनीति, उपलब्धिको राजनीति मात्र जनताले देख्छ। राजनीतिमा धर्य चाहिन्छ अनि नेतृत्वमाथि विश्वास राख्नुपर्छ।”
उनले अझ भने, “पहाडमा हामी राजनैतिक शिकार बन्दैछौँ। हामी राजनैतिक रूपमा सचेत छैनौं। तृणमूलसँगको हाम्रो राजनैतिक समीकरणको नकरात्मक न्यारेटिभले अन्य पार्टीले फाइदा लिन्छ। सांसदको चुनावमा भारतीय जनता पार्टीले काम नै नगरी ममता ब्यानर्जीलाई हराउनु भारतीय जनता पार्टीलाई जितायो। हामीलाई हरायो। नोक्सान गोर्खालाई नै भएको छ। शिकार दार्जीलिङ पहाडको गोर्खा नै भएको छ।”
थापाले कसैको नाम नलिई, कटाक्ष गर्दै भने, “हामी राजनैतिक उटपट्याङ कुरा सुन्नु हुँदैन। उनीहरुको राजनैतिक लक्ष्य, भिजन, रणनीति भनेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई हराउनु मात्र रहेछ। म हार जीतको लडाइँमा निस्केको होइन। सभ्य समाज, सभ्य सोच, सभ्य परिवेश सृजना गर्ने हाम्रो राजनीति हो। मलाई चुनाव जित्दा कुर्सीको याद आउँदैन। म राज्य सरकारसँग मिलेर काम गर्ने नेता हुँ। मलाई मान्छेले भोट नदेला बंगाल सरकारसँग मिल्यो भन्दा तर बङ्गाल सरकारसँग मिलेर काम गरेनौं भने यहाँको विकास कहाँबाट हुन्छ? त्यसैले म खुल्लम खुल्ला भन्छु म पहाडको समृद्धि, विकास अनि शान्तिको निम्ति बंगाल सरकारसँग मिलेर नै काम गर्छु। आफ्नो खुट्टामा उभिने राजनीति हो मेरो।”
विचारको परिवर्तनले नै सही परिवर्तन ल्याउँछ भन्दै उनले थप भने, “हाम्रो घरहरूमा शुभ लाभदेखि ‘तपाईं सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ ‘ सम्म आइपुगेको परिवर्तन सकारात्मक परिवर्तन होइन। वैचारिक परिवर्तन नै सही परिवर्तन हो। आफ्नो गाउँ आफै बनाउनुपर्छ। सङ्घर्षलाई आफ्नो सिद्धान्त मान्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सदैव गाउँ निर्माणमा सहयोग गर्नेछन्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement