न्यूयोर्क: जापानकी नाओमी ओसाकाले तेस्रो वरीयता प्राप्त अमेरिकी खेलाड़ी कोको गौफलाई पराजित गरी यूएस ओपन टेनिस च्याम्पियनशीपको क्वार्टर फाइनलमा स्थान बनाइन्। चौथो राउण्डको म्याचमा ओसाकाले गौफलाई सीधा सेटमा ६-३, ६-२-ले पराजित गरिन्। अर्थर ऐश स्टेडियममा ओसाकाले पहिलो गेममै सर्विस ब्रेकको साथ बढ़त हासिल गरिन् अनि पूरा म्याचमा सर्विसमाथि नियन्त्रण कायम राखिन्। यसबाहेक गौफको ३३ वटा अनफोर्स्ड एररले पनि जापानकी खेलाड़ीलाई फाइदा भयो। यसरी ओसाका फेरि एकपल्ट गौफलाई पराजित गर्न सफल भइन्। ओसाकाको यो २०२१-मा अष्ट्रेलियन ओपनमा खिताब जितेपछि कुनै पनि ग्राण्ड स्ल्याममा सबैभन्दा सफल प्रदर्शन हो। म्याच जितेपछि उनले भनिन्, यहाँ फर्किनु असाधारण अनुभव रह्यो। यस जीतले मेरो आत्मविश्वासलाई बढ़ाउनेछ। क्वार्टर फाइनलमा ओसाकाको भिड़न्त चेक गणराज्यकी एघाह्रौं वरीयता प्राप्त क्यारोलिना मुचोवासँग हुनेछ, जसले युक्रेनकी मार्ता कोस्त्यूकलाई ६-३, ६-७ (०-७), ६-३-ले पराजित गरिन्। मुचोवा फ्लशिंग मिडोजमा लगातार तेस्रो सेमिफाइनल खेल्ने प्रयासमा रहेकी छन्। यसैकारण ओसाकासँग उनको भिड़न्त रोचक हुुनेछ। यसरी पोल्याण्डकी इगा स्वियातेकले पनि १३औं वरीयता प्राप्त एकातेरिना एलेक्सान्द्रोवालाई ६-३, ६-१-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाइन्। स्वियातेकलाई म्याच जित्न केवल १ घण्टा समय लाग्यो। यस जीतको साथै उनले ग्राण्ड स्ल्याममा लगातार जीतको आफ्नो आंकड़ालाई ११ म्याचसम्म पुऱ्याइन्। स्वियातेक आफ्नो दोस्रो यूएस ओपन खिताब जित्ने प्रयासमा जुटेकी छन्। क्वार्टर फाइनलमा स्वियातेकको सामना अमेरिकाकी अमाण्डा एनिसिमोवासँग हुनेछ। अमेरिकी खेलाड़ीले अन्य एउटा प्री-क्वार्टर फाइनलमा १८औं वरीयता प्राप्त ब्राजीलकी खेलाड़ी बीट्रीज हद्दाद माइयालाई सजिलै ६-०, ६-३-ले पराजित गरिन्। यसरी पुरुष एकलमा शीर्ष वरीयता प्राप्त इटलीका खेलाड़ी यानिक सिनरले सजिलै क्वार्टर फाइनलमा प्रवेश गरे। उनले चौथो राउण्डको म्याचमा कजाकिस्तानका एलेक्जेण्डर बुब्लिकलाई ६-१, ६-१, ६-१-ले पराजित गरे। आठौं वरीयता प्राप्त अष्ट्रेलियाका एलेक्स डी मिनौरले पनि स्विट्जरल्याण्डका क्वालीफायर लेआण्ड्रो रीडीलाई ६-३, ६-२, ६-१-ले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरे। डी मिनौरले ४३५औं ऱ्याङकिंग भएका खेलाड़ीलाई पराजित गर्न आठवटा ब्रेक पोइण्ट हासिल गरे। यो उनको छैटौं ग्राण्ड स्ल्याम क्वार्टर फाइनल हुनेछ तर उनले अहिलेसम्म एकपल्ट पनि सेमिफाइनलमा स्थान बनाएका छैनन्। क्वार्टर फाइनलमा उनको भिड़न्त कनाडाका २५औं वरीयता प्राप्त फेलिक्स आगर एलियासिमसँग हुनेछ, जसले रुसका आन्द्रे रुबलेवविरुद्ध ७-५, ६-३, ६-४-ले जीत हासिल गरे। यसबाहेक महिला युगलमा ४५ वर्षीय भीनस विलियम्सले कनाडाकी लेलाह फर्नाण्डीजसँग मिलेर लगभग एक दशकपछि कुनै ग्राण्ड स्ल्याम डबल्सको क्वार्टर फाइनलमा प्रवेश गरिन्। अमेरिका र कनाडाकी जोड़ीले रुसकी एकातेरिना अलेक्सान्द्रोवा र चीनकी झांग शुआईकी जोड़ीलाई ६-३, ६-४-ले पराजित गऱ्यो। यो भीनसको २०१६ पछि पहिलो डबल्स ग्राण्ड स्ल्याम क्वार्टर फाइनल हुनेछ।