एसकेएम पार्टीलाई तृणमूलस्तरबाटै सशक्त बनाउने प्रस्ताव पारित

IMG-20250901-WA0200

पाकिम: सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको राज्यस्तरीय संगठनात्मक प्रकोष्ठले आज पाकिममा जिल्लास्तरीय समन्वय बैठक आयोजन गऱ्यो। स्थानीय कम्युनिटी हलमा भएको बैठकको अध्यक्षता पार्टीका कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चाले गरेका थिए। बैठकमा संगठनात्मक प्रकोष्ठका अध्यक्ष ललित शर्मा र उपाध्यक्ष ओटी लेप्चाको सहभागिता थियो। गेजिङ, सोरेङ र नाम्चीपछि चौथो जिल्लास्तरीय बैठकमा पाकिम जिल्ला अन्तर्गतका क्षेत्रीय विधायक, जिल्ला इन्चार्ज, क्षेत्रस्तरीय समिति अध्यक्ष, महासचिव, तथा शीर्ष कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। बैठकमा पार्टीलाई आधार तहदेखि सबल बनाउन आवश्यक विभिन्न विषयहरूमा छलफल भएको थियो। यस किसिमका बैठकहरू राज्यव्यापी रूपमा आयोजना भइरहेको छन्, जसको मुख्य उद्देश्य पार्टीको संगठनात्मक संरचना मजबुत बनाउनु रहेको छ। बैठकमा पार्टीको कार्यशैली र उपलब्धिहरूको समीक्षा गर्दै निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रीय तहबीच समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो। वक्ताहरूले सामुहिक प्रयासमार्फत संगठन सबल बनाउनुपर्नेमा जोड दिए। विधायकहरूले आफ्ना निर्वाचन क्षेत्रमा भइरहेका विकासात्मक पहल र जनताका अपेक्षाबारे अनुभव बाँडे। यसबीच उपाध्यक्ष र महासचिवले आगामी दिनहरूमा पार्टीलाई अझ व्यवस्थित बनाउन पारदर्शिता र कार्यक्षमतामा ध्यान दिने रणनीति प्रस्तुत गरे। बैठकमा नाम्चेबोङका विधायक तथा मन्त्री राजु बस्नेत, छुजाचेनका विधायक तथा मन्त्री पुरन कुमार गुरुङ, ग्नाथाङ–माचोङकी विधायक पामिन लेप्चा, सीएलसी अध्यक्षहरू, उपाध्यक्षहरू, जिल्ला अध्यक्षसहित प्रमुख पदाधिकारीहरू शहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement