मंगन: मंगन जिल्ला कृषि विभागअन्तर्गत आत्माका अधिकारीहरु, किसानहरु र वैज्ञानिकहरूबीच एक अन्तर्क्रिया एवं किसान गोष्ठी कार्यक्रम आयोजन गरियो। यस कार्यक्रमको थिम दिगो कृषिको लागि माटोको स्वास्थ्य व्यवस्थापन रहेको थियो। कार्यक्रममा पशुपालन एवं पशुधन विभागका संयुक्त निर्देशक डा. हिस्से डी लेप्चा, उप निर्देशक पदमबहादुर गुरूङलगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त निर्देशक लेप्चाले पशुपालन, दुग्ध र सुँगुरपालन प्रवर्द्धनसँग सम्बन्धित विभागका योजनाहरू साझा गर्दै माटोको उर्वरता र कृषि आम्दानी बढाउन कृषिसँग पशुधनको एकीकरणमाथि जोड दिए। सोही प्रकारले उपनिर्देशक मिकमार लेप्चाले किसानहरूको लागि उदाउँदो आय आर्जनको रूपमा फूलखेतीमाथि विशेष ध्यान केन्द्रित गर्ने बागवानी योजनाहरूहरूमाथि प्रकाश पारे। यसरी नै एसएमएस मिना प्रधानले केभीकेद्वारा अहिलेसम्म गरिएका सफल कार्य र प्रदर्शनबारे रिपोर्ट साझा गर्दै किसानहरूलाई नवीन अभ्यासहरू अप्नाउन प्रेरित गरिन्। यसबीच खण्ड विकास अधिकारी रोशन सुब्बाले विभिन्न मत्स्यपालन योजनाबारेमा विस्तृतरूपमा अवगत गराउँदै जिल्लामा दिगो उद्यमकोरूपमा माछापालन विकास गर्न किसानहरूलाई पूर्ण प्राविधिको सहयोग गर्ने आश्वासन दिए। यस अवसरमा उपस्थित सबै स्रोत व्यक्तिहरूले किसानहरूलाई आ-आफ्नो सम्बन्धित योजनाहरू, प्रविधिहरू र सफलता मोडेलबारेमा जानकारी गराउँदै ग्रामीणस्तरमा दिगो कृषि अभ्यासहरू अप्नाउने प्रोत्साहित गरे।