इरानमा हिजाबविरुद्धमा जारी विरोध प्रदर्शन झन् हिंसात्मक बनेको छ। इरानी महिला महसा अमिनीको मृत्युपछि देशभर विरोध प्रदर्शन भएको छ। महिलाहरूले प्रतीकात्मक रूपमा हिजाब जलाएर र कपाल काटेर सरकारको विरोध गरिरहेका छन्। इरानको कुर्दिस्तानबाट शुरु भएको यो प्रदर्शन राजधानी तेहरानलगायत सबै प्रमुख सहरमा शुरु भएको छ। आन्दोलनका क्रममा तीन आन्दोलनकारीको मृत्यु भएको छ। कुर्दिस्तानमा २२१ प्रदर्शनकारी घाइते भएका छन्। सोही क्रममा २५० जना पक्रा परेका छन्। संयुक्त राष्ट्र संघलगायत धेरै देशले इरानको सुरक्षा बलले प्रदर्शनकारीमाथि गरेको बल प्रयोगको निन्दा गरेका छन्।
महसा अमिनीको इरानमा प्रहरी हिरासतमा मृत्यु भएको थियो। इरानको महिलाका लागि कडा ड्रेस कोडको उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। महसाको हृदयघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। तर अमिनीको परिवारले महसा पूर्णरुपमा स्वस्थ रहेको दाबी गरेको छ। पुलिस हिरासतमा केहि भयो, जसका कारण उनको मृत्यु भयो। महसाको मृत्युपछि इरानमा हंगामा चर्कियो। इरानमा हिजाब लगाउने कडा कानून भए पनि महिलाहरूले हिजाब फुकालेर र धेरै ठाउँमा हिजाब जलाएर विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा तीनजनाको मृत्यु भएको इरान प्रशासनले पनि पुष्टि गरेको छ।
इरानमा महिलाहरु लगातार चौथो दिन पनि सरकारविरुद्ध प्रदर्शनमा ओर्लिएका छन्। यस सम्बन्धमा सामाजिक सञ्जालमा सबै भिडियो र फोटोहरु भाइरल भइरहेका छन्। यसलाई इरानमा २०१९ पछिको सबैभन्दा ठूलो विरोध प्रदर्शन भनिएको छ, त्यसबेला जनता इन्धनको मूल्यलाई लिएर सडकमा उत्रिएका थिए। तर यसपटक ठूलो संख्यामा महिलाहरुले शरिया कानूनको विरोध गरिरहेका छन्। विरोधमा महिलाहरूले हिजाब जलाउने मात्र होइन, कपाल काटेर पनि विरोध गरिरहेका छन्।
प्रदर्शन पहिलो पटक इरानको उत्तरी कुर्दिस्तान प्रान्तमा भएको थियो। अमिनी यहींकी थिइन्। तर यो देखेपछि इरानभर प्रदर्शन हुन थालेको छ। यहाँका गभर्नरले तीन प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेका छन्। तर, प्रदर्शनकारीहरूले भने सुरक्षाकर्मीले लगातार गोली चलाइरहँदा तीन जनाको ज्यान गएको र कैयौं घाइते भएको बताएका छन्। न्यूयोर्कको ह्युमन राइट्स वाचले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो र तस्वीरमा अधिकारीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रु ग्यास र कुर्दिस्तान प्रान्तमा घातक बल प्रयोग गरेको देखाएको बताएको छ। जेनेभामा, संयुक्त राष्ट्रसंघले मानवअधिकारका लागि उच्चायुक्त नादा अल-नासिफले अमिनीको मृत्यु र प्रदर्शनहरू विरुद्ध सुरक्षा बलहरूको हिंसात्मक प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेको बताएको छ। उनले अमिनीको मृत्युको स्वतन्त्र छानबिन हुनुपर्ने बताए।