कालेबुङ: पहाडका धेरै शिक्षित युवाहरू राज्यका धेरै स्थानमा विभिन्न पदहरूमा रहेका कुरा सबैलाई थाहा भएकै कुरा हो। यस्तै एकजना पहाडकी छोरी डा. प्रीति घतानी बङ्गालको मुटु काेलकत्तास्थित रानी बिरला कन्या महाविद्यालयमा उप-प्राचार्य पदमा नियुक्त भएकी छन्। महाविद्यालयको आन्तरिक व्यवस्थालाई अझ प्रभावकारी बनाउन डा घतानीलाई उक्त पदमा पश्चिम बङ्गाल शिक्षा मन्त्रालयले सरकारी नोटिफिकेसन जारी गरी उक्त पदमा गत शुक्रबार नियुक्त गरेको छ जानकारी प्राप्त भएको छ।

डा. प्रीति घतानी, कालेबुङको बाघधारा निवासी पिता स्व. नारदमणि घतानी अनि माता स्व निता घतानीकी सुपुत्री हुन्। राजनीति विज्ञानमा पीएचडी गरेकी डा. प्रीति घतानीले आफ्नो शिक्षण यात्रा कालेबुङको एक प्रतिष्ठित स्कूल सन्त फिलोमिना पाठशालाबाट प्रारम्भ गरेकी थिइन्। आफ्नो प्राध्यापकीय यात्राका क्रममा उनले सेन्ट जोसेफ महाविद्यालय नर्थ पोइन्ट दार्जिलिङ अनि खरसाङ महाविद्यालयमा पूर्णकालिक सेवा गरेकी थिइन्। हाल डा घतानी, रानी बिरला कन्या महाविद्यालयमा गत एक दशकभन्दा धेरै समयदेखि राजनीति विज्ञानमा प्राध्यापन गरिरहेकी छन्। यसरी सरकारी आदेशमा डा प्रीति घतानी उक्त पदमा नियुक्त हुनु उनको निम्ति ठुलो चुनौती त छँदैछ तथापि, पहाडवासीका निम्ति यो एउटा सुखद् समाचार रहेको मानिन्छ। पहाडबाट आफन्त लगायत धेरै पहाडवासीले उनलाई उप-प्राचार्य बनेकामा बधाई-शुभकामना पनि दिइरहेका कुरा थाहा लागेको छ।