पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड फूटबल क्लब दार्जीलिङले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा आइतवार भएको म्याचमा युनाइटेड दार्जीलिङले जलपाइगढ़ी पुलिसविरुद्ध पेनल्टी शूटआउटमा ५-४ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा दार्जीलिङ युनाइटेडको तर्फबाट आर्यन छेत्री (१८औं मिनट) र जलपाइगढ़ी पुलिसको तर्फबाट रोनी पल (२५औं मिनट)-ले गोल गरे। विजेता टीमका डिफेण्डर दिवस तामाङले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। सोमवार खेलिने म्याचमा पुर्वेली युवा क्लब, नेपाल र १०७ टीए (दार्जीलिङ)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ। यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।